आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

पूर्वजनमुक्ति सेनाबारे पहिलो पटक बोले ओली-‘जनयुद्धमा तपाईंहरूको त्याग,बलिदानप्रति सम्मान छ’

गोकर्णेश्वर खबर१० माघ २०७७, शनिबार १७:४३ मा प्रकाशित (३ साल अघि) ३१३ पाठक संख्या

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले जनयुद्ध का क्रममा खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजति भेटघाटमा नेकपा अध्यक्ष रहेका ओलीले जनयुद्ध मा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिएका छन् ।

ओलीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग गर्‍यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।

ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्‍चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सत्तारुढ नेकपा विभाजित भएको छ । ओली समूह र दाहाल नेपाल समूहमा विभाजित नेकपा अहिले नेता, कार्यकर्ता तानातानमा छन् ।

‌ओलीले असंवैधानिक रुपमा संसद्‌ विघटन गराएको भन्दै दाहाल नेपाल समूह सडक आन्दोलनमा छ भने ओली समूह वैशाखमा घोषणा गरिएको निर्वाचन हुने दाबीसहित त्यसको तयारमा जुटेको छ । यद्यपि संसद् विघटन सदर वा पुनर्स्थापना भन्ने विषयको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा छ ।