आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

ओलीलाई प्रचण्डको व्यंग्य : जनयुद्ध भनेपछि सुन्न पनि नचाहनेले जनमुक्ति सेनालाई हेर्ने रे !

गोकर्णेश्वर खबर९ माघ २०७७, शुक्रबार १८:१८ मा प्रकाशित (३ साल अघि) ७५७ पाठक संख्या

काठमाडौं – राजधानीमा आयोजित नेकपा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शनमा अध्यक्ष प्रचण्डले केपी ओलीमाथि कटाक्ष गर्दै भने– फट्याइँ गर्न पनि कति सकेको क्या, जालझेल गर्न पनि कस्तो दिमाग हो ’

विशेष गरी जनयुद्धका योद्धाहरुलाई प्रचण्डले बेवास्ता गरेको केपी ओलीले आरोप लगाउँदै आएका थिए, यसैको जवाफमा प्रचण्डले ओलीलाई ‘फटाहा’ को संज्ञा दिएका हुन् ।

केपी ओलीले सुरुदेखि नै जनयुद्धलाई विरोध गर्दै आएको बताउँदै प्रचण्डले भने, ‘जनयुद्ध भनेपछि सुन्न पनि नचाहने एक नम्बर मान्छे उहाँ हुनुहुन्थ्यो पहिला । पछि शान्ति सम्झौता भएपछि त अलिकति मान्नुहोला कि भन्ने ठानेको त जनयुद्धका शहीदलाई सम्मान गर्ने कार्यक्रममा उहाँ एकचोटि पनि जानुभएन । मैले त्यसलाई खुब नोट गरेको थिएँ ।’
प्रधानमन्त्री बनेको यतिका वर्षसम्म ओलीले घाइते र योद्धाका समस्याको सुनुवाइ नगरेको प्रचण्डको गुनासो छ । उनले भने, ‘घाइते अपाङ्गहरु माइतीघर मण्डलामा अनशन बस्दा अनेक गरेर, ऋण सापट खोजेर मैले बेलाबेलामा राहत दिएँ । सरकारलाई मैले पटक–पटक यी घाइते अपाङ्गको उपचार हुनुपर्‍यो भनें । पहिला खाईपाई आएको मासिक भत्ता पनि खोसिदिएछ यो सरकारले त झन् ।’

प्रचण्डले अगाडि भने, ‘गृहप्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरैचोटि भन्दा कहीँ कतै टेरपुच्छर लाइएन । उल्टो मासिक भत्ता खोसियो । घाइतेहरुको उपचार गर्ने कुरालाई पूरै बेवास्ता गरियो ।’

तर, अहिले प्रचण्डले घाइते योद्धाहरुलाई नहेरेको भन्दै ओलीले फट्याइँ गरेको प्रचण्डको आरोप छ । उनले ओलीमाथि कटाक्ष गर्दै भने, ‘अहिले पार्टी विभाजन गरेपछि र आफू अल्पमतमा परेपछि मैले कहिलेकाहीँ सुन्छु, यी घाइते अपाङ्गलाई हेर्नुपर्दैन ? भन्ने यही केपी ओली , फट्याइँ गर्न पनि कति सकेको क्या, जालझेल गर्न पनि कस्तो दिमाग हो ?’

प्रचण्डले ओलीमाथि कटाक्ष गर्दै थपे–

‘कालीबहादुर खाम खोई अरे, त्यो कालीबहादुर खाम विचरा आफैंले केही गर्‍या त होइन । उसको मुद्दा ठीक ढंगले हल होस् भन्नका लागि १०,११ वर्षदेखि म लगातार लागेको छु । उसलाई परेको गाह्रो–साह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालीबहादुर, तपाईंलाई प्रचण्डले हेर्दैन, जनमुक्ति सेनाका कमाण्डर हुन् उनी ।

जसलाई मैले १० वर्षसम्म स्कुलिङ गरेर, हुर्काएर, माया गरेर एउटा ठाउँमा पुर्‍याएको । ती मान्छेको चाहिँ अब केपीले संरक्षण गर्ने रे, आमाको दूध चुसेर भएन, बाबुको घुँडो , योभन्दा लाजमर्दो अरु हुन्छ ? प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले ’

जनमुक्ति सेनाका सबै कमाण्डर, घाइते, योद्धा साथीहरु भ्रमित नहुनुहोला । तपाईंहरुको रगत पसिना र बलिदानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन ऐतिहासिक भूमिका खेलेको छ । इतिहासको स्वर्णिम अक्षरमा तपाईहरुको नाम लेखिइसकेको छ । त्यसलाई कालो पोत्ने काम हामी कोही नगरौं । म यो अपील गर्न चाहन्छु ।’

भाषणका क्रममा प्रचण्डले ओली समूहतिर लागेका पूर्वमाओवादीहरुमाथि पनि कटाक्ष गरे । उनले भने, ‘तपाईंहरुले थाहा पाउनुभएको छ, हिजो पूर्वमाओवादीका केही–केही फुट्ने, आउने–जाने गरेका केही चाहिँ अहिले खरानी घसेर चिन्नै नसकिने भएका छन् । केपीका ओरिजिनल साइबर स्यालभन्दा यी भगौडाहरुले यति धेरै खरानी घसेको देखेर मलाई लाजै लाग्या छ ।’

त्यसैगरी, ओलीका पछाडि राजावादीहरु पनि लागेको बताउँदै प्रचण्डले भने, ‘उनको पछि लाग्ने देख्नुभएको छ नि अनुहार तपाईहरुले । उनको पछि लाग्नेहरु हिजो ज्ञानेन्द्रका जोजो मान्छे थिए, तिनीहरु दौडिएका छन् अहिले ।’