आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

१० वर्षअघि सोनारको गोली हानेर हत्या गर्ने जागेश्वर पक्राउ

गोकर्णेश्वर खबर८ माघ २०७७, बिहीबार ११:३७ मा प्रकाशित (३ साल अघि) ४९८ पाठक संख्या

जनकपुरधाम – दश वर्षअघि धनुषामा एक जनाको गोली हानी हत्या गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ (साविकको भरतपुर गाविस–८) बस्ने ३४ वर्षीय जागेश्वर यादव छन् ।

यादवले २०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको गोली हानी हत्या गरेका थिए । बा ११ प ४९४२ नम्बरको मोटरसाइकल चढेर धनुषाका तत्कालीन भरतपुर गाविसस्थित वीरेन्द्र बजारमा फुटबल खेल्न आएका सोनारलाई जागेश्वर यादव समेतले गोली प्रहार गरी हत्या गरेर शव स्थानीय बालुवाखोलाको काटा झारीमा फ्याँकेका थिए ।

उनीहरुले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, आधी तोला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका थिए ।

हत्यापछि मृतककी पत्नी शकुन्तला थापा समेतले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।

यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले घुमफिर गरिरहेको अवस्थामा मिर्चैया नगरपालिका ३ बाट बुधबार साँझ पक्राउ गरेको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको उनले बताए ।