आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

संसद विघटन गर्न ओलीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हायो : प्रचण्ड

गोकर्णेश्वर खबर६ माघ २०७७, मंगलवार २१:२२ मा प्रकाशित (३ साल अघि) ५१८ पाठक संख्या

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ’ उनले भने ।

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डले बताए । उनले अघि भने, ‘विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका छौं ।’

संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको प्रचण्डले बताए ।

संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने उनले बताए । प्रचण्डले भने, ‘मैले त बुझेको छु, अब केपीको हातमा केही छैन । जुन दिन उहाँले संसद भंग गर्न सिफारिस गर्नुभयो, त्यो दिनबाट उहाँको हातमा केही छैन, अब अन्तै छ चिजहरु ।’