आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कागेश्वरीमा मन्त्री फुयालद्वारा खानेपानी ट्यांकी तथा फिल्टरको उद्घाटन

गोकर्णेश्वर खबर३ माघ २०७७, शनिबार ११:५१ मा प्रकाशित (३ साल अघि) ६१३ पाठक संख्या

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा नव निर्मित पानी ट्यांकी तथा फिल्टरको उद्घाटन गरिएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका तीन मूलको पानी सङ्कलन गरेर वडा नं १ कृष्ण मन्दिर अड्डा नजिक निर्माण गरिएको करिब लाख ३० हजार लिटर क्षमताको खाने पानी ट्याङ्की र फिल्टरको बुधबार बागमती  प्रदेशका  भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले उद्घाटन गरेका हुन।शुद्धीकरण गरिएको पानी वडाका करिब ८०० घरलाई वितरण गरिने छ । उद्घाटन पश्चात  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री फुयालले   प्रदेशभर एक घर एक धाराको नीति अघि सारी काम भइरहेको जानकारी गराए ।

“पानीका स्रोत संरक्षण गरी प्रदेशसभाका ६६ वटै निर्वाचन क्षेत्रमा गुणस्तरीय पानी पुर्याइनेछ, खानेपानीलाई पहिलो प्राथमिकतामा राखिएको छ, यसैगरी सिँचाइ सेवा लैजान पनि ध्यान दिइनेछ, तालतलैया, ढुङ्गेधारा, राजकुलो लगायतको संरक्षण पनि गरिनेछ, प्रदेशमा लिच्छविकालदेखिका २४ वटा राजकुलो रहेको पत्ता लागेकाले तिनको संरक्षण गर्ने नीति पनि सरकारको छ”, उनले भने  ।

कार्यक्रममा बोल्दैने पाल तरुण दल काठमाडौँ जिल्ला अध्यक्ष कृष्णजी खड्काले साविकको आलापोट गाविसको वडा नं १ स्थित सूर्यमण्डली क्षेत्रका अझै खानेपानी नपुगेकाले छिटो लैजान माग गर्दै पानी नभएका कारण स्थानीयवासी समस्यामा रहेको उनको भनाइ रहेको  थियो ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का अध्यक्ष सुदर्शन धिमालले वडाभर खानेपानी पुर्याउन विभिन्न तहका सरकारसँगको सहकार्यमा काम भइरहेको बताए  ।  उनले वडाको सूर्यमण्डली क्षेत्रमा पुरानो स्रोतबाट पानी ल्याउन काम भइरहेको जानकारी दिए ।

खानेपानीको व्यवस्थापन आलापोट खानेपानी व्यवस्थापन समाजले गर्दै आएको छ ।समाजको चौथो साधारसभा समेत बुधबारनै  सम्पन्न भएको छ ।उक्त साधारण सभाले  सभाले शिवराम बस्नेतको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।समाजले घरघरमा मिटरसमेत वितरण गरी पानी व्यवस्थापन गर्छ । दश युनिटसम्म पानी उपभोग गर्नेलाई रु १००, २० युनिटसम्म उपभोग गर्नेलाई रु सात बढी, २५ युनिटसम्म उपभोग गर्नेलाई रु दश बढी, ३० युनिटसम्म उपभोग गर्नेलाई रु १५ बढी र ३१ युनिटभन्दा धेरै पानी उपभोग गर्नेलाई रु २५ बढी लिने गरी शुल्क निर्धारण गरेको  छ ।कार्यक्रममा पानी व्यवस्थापनमा काम गर्ने कर्मचारी परिक्षित धिमाललाई मन्त्री फुयाँलले रु दुई हजार नगदसहित सम्मान गरेका थिए ।