आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कांग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी

गोकर्णेश्वर खबर२६ मंसिर २०७७, शुक्रबार ०६:४७ मा प्रकाशित (३ साल अघि) ३१० पाठक संख्या

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका कोभिड-१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसले गएकाे असार २२ गते केन्द्रीय महाधिवेशन आउँदाे फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।

कोभिड-१९ कारण कार्यतालिकाअनुसारको क्रियाशिल सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।

त्यही कारण यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको विधानअनुसार आउँदाे फागुन २० गतेसम्म १४ औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसकाे कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ ।

कांग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाण्डौमा भएको थियो । कांग्रेसले कोभिड-१९ को वर्तमान विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ ।

नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक त्यस दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधापर्ने छैन् भनी उल्लेख छ ।

कांग्रेस सहमहान्त्री डा प्रकाशशरण महतले पनि फागुनमा महाधिवेशन गर्न कठिन देखिएको उल्लेख गर्दै भन्नुभयो, ‘मङ्सिरभित्र क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने भनेको हो, केही ठाउँबाट त आउला, तर सबै ठाउँमा सम्पन्न हुन कठिन देखिरहेको छु ।’ उहाँले मङ्सिरसम्ममा क्रियाशील सदस्यताको विवरण आएपछि केन्द्रीय समिति बैठकमा समीक्षा हुने र फागुनमा महाधिवेशन हुने नहुने सम्बन्धमा निर्णय गरिने बताउनुभयो ।

महाधिवेशन कार्यतालिकाअनुसार कांग्रेसले गएकाे साउन १० गतेभित्र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजना गरिसक्नुपर्ने र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली अन्तिम सूची मङ्सिर मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकेको थियो । दुवै कार्यको निर्धारित मिति प्रभावित भइसकेको छ ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेसम्म कुनै पनि जिल्लाको क्रियाशील सदस्यता विवरण केन्द्रमा आइनसकेकाले आउँदाे फागुनमा महाधिवेशन सम्भव नभएको बताउनुभयो । फागुनमा महाधिवेशन गर्न पुसमा जिल्ला अधिवेशन सक्नुपर्ने बताउँदै उहाँले महाधिवेशन मिति संशोधन गर्ने सम्बन्धमा केन्द्रीय समितिको आउँदाे बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सभापतिलाई महाधिवेशन छिटो गर्नुस् भनेका छौं, आउँदाे वर्षायाम अघि नै टुङ्ग्याउनुपर्छ ।’ अहिलेको महाधिवेशन कार्यतालिकाअनुसार गाउँ नगर वडा अधिवेशन आउँदाे पुस ६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन आउँदाे फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने हुन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरु निर्धारित समयमै महाधिवेशन गराउन पहल गरिरहेको उल्लेख गर्दै क्रियाशील सदस्यताको कामले ढिला गराउन लागेको आरोप लगाउनुभयो । साथै उहाँले जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता कार्य सम्पन्न गरेर चाँडै विवरण पठाउन भनिरहेको र विवरण आएपछि थप निर्णय हुने जानकारी दिनुभयो ।

कांग्रेसले महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको भए पनि अहिलेसम्ममा कुनै पनि जिल्लाबाट विवरण नआएको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । गएकाे कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको थियो ।

कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता सङ्ख्या अहिले करिब पाँच लाख छन् । केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा त्यस सङ्ख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ । क्रियाशील सदस्यता नवीकरणका लागि २०० र नयाँका लागि ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यसैगरी पार्टीको जिल्ला समायोजन कार्य सप्तरी, बारा र सिन्धुपाल्चोकमा अझै बाँकी रहेको बताउँदै सचिव रिजालले समायोजन कार्य केही दिनमै सकिने जानकारी दिनुभयो । कांग्रेसमा गाभिएका विभिन्न राजनीतिक दलको समायोजन पनि अझै बाँकी छ । त्यस्ता दलसँगको क्रियाशील सदस्यता र साङ्गठानिक पद समायोजनको काम अन्तिमचरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ ।