आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

उपत्यकामा थपिए ५९४ जना कोरोना संक्रमित

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार १६:४६ मा प्रकाशित (३ साल अघि) ५५५ पाठक संख्या

काठमाडौं : मंगलबार काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। २६३ महिला र ३३१ पुरुषसहित ५९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका ५९४ सहित १३ सय ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ।

यस्तै मंगलबार एकैदिन १६ सय २१ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख २९ हजार ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.१  प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ६८६ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार मात्र कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट थप २० जनाको मृत्यु भएको थियो।

यस्तै अहिले ५२३ जना क्वारेन्टिन र १२ हजार ६८६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। मंगलबार ८ हजार ९४७ स्वाब नमूना परीक्षण गराउँदा १३ सय८२ जनामा संकरमण देखिएको मन्त्रालयले जनाएको छ।