आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एन्फाले कार्यसमिति बैठक बोलायो, छलफलका लागि २३ भन्दा धेरै एजेण्डा तय

गोकर्णेश्वर खबर२० मंसिर २०७७, शनिबार ०६:३१ मा प्रकाशित (३ साल अघि) ५२० पाठक संख्या

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमिति बैठक बोलाएको छ ।

वार्षिक साधारण सभासहित विभिन्न एजेण्डामा छलफल गर्न एन्फाले यही मंसिर २५ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो ।

एन्फा हेडक्वार्टर सातदोबाटोमा २५ गते बिहान ९ बजे बस्ने बैठकमा विभिन्न २३ भन्दा धेरै एजेण्डामा छलफल हुने एन्फाले जनाएको छ । बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना, युवा विकास परियोजना, विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न राष्ट्रिय टिमको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा सहभागिता तथा आयोजनालगायत विषयमा छलफल हुनेछ ।

यस्तै, एन्फाको कार्यक्रम अनुसार स्थगित भएका प्रतियोगिता पुन सञ्चालन गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्तिको लागि एन्फा साधारण सभामा सिफारिस गर्नेलगायतका एजेण्डाबारे बैठकमा छलफल हुनेछ ।

यस्तै, अवकास प्राप्त कर्मचारीको उपदान रकम उपलब्ध गराउने, खेलाडी दर्ता नियमावली संशोधन प्रक्रिया अघि बढाउने, विधान संशोधनको प्रस्तावना मस्यौदा, एन्फाको कृत्रिम घाँसे खेल मैदानमा ट्रेसिङ्ग फ्लडलाइट जडान, फुटसल र बीच फुटबल प्रतियोगिता आयोजनालगायत विषयमा पनि छलफल हुनेछ भने नेपाली राष्ट्रिय टिमको विदेशी प्रशिक्षक, अनुशासन, कोभिड–१९ रिलिफ फण्डलगायतबारे पनि एन्फाले छलफल गर्दै छ ।