आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार १८:३७ मा प्रकाशित (३ साल अघि) ७४९ पाठक संख्या

काठमाडौं ,मंसिर १९।

काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो ।

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म उक्त पठन–पाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

‘काठमाडौँ महानगरपालिकाको ५१ औ  कार्यपालिका बैठकले यही चालु क्षैक्षिक शत्रबाटै पठन–पाठन सुरु गर्ने निर्णय गरिसकेको छ,’ काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती खनालले भन्नुभयो, ‘हामीले गत वैशाख–जेठबाटै तयारी गरेका हौँ । तर, कोभिड र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा केही ढिलाई भएको छ । यद्यपि, हामीले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्ययममार्फत पठन–पाठन अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो ।

उहाँले काठमाडौँ महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेको र संस्थागत विद्यालयको संख्या करीब ६ सय ४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने जानकारी दिनुभयो ।

‘काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यो विषयको पठन–पाठन सुरु गरेका हौँ,’ उहाँले भन्नुभयो ।

काठमाडौं महानगर ऐतिहासिककालदेखि नेपालभाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक पनि नेपालभाषामै तयार गरेको जानकारी पनि दिएको छ । काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपालभाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकोले यो पाठ्यपुस्तक नेपालभाषामा तयार गरिएको हो । पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको जानकारी दिनुभयो ।

पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको पनि उहाँले जानकारी दिनुभयो । ‘पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्,’ उहाँले भन्नुभयो, ‘बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ यो पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिन्छ । यसको उद्देश्य पनि यही नै हो ।’

बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिनुभयो । ‘कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ उहाँले भन्नुभयो, ‘कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ । ‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमण सहित स्थानीय भाषामै पढाउने तयारी भएको छ,’ डा. वज्राचार्यले भन्नुभयो ।

काठमाडौं महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजायनमा गइसकेको छ । पूर्ण रूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ । पुस्तकमा नेपालभाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ ।

नयाँ संविधानमा व्यवस्था गरिए अनुरुप मुलुकको कुनै पनि स्थानीय तहले स्थानीय भाषामै स्थानीय पाठ्यपुस्तक तयार गरेको यो नै पहिलो हो । यसले विद्यार्थीहरूलाई सानै उमेरदेखि मुलुकको ढुंगा माटोसँग परिचित गराई भोलि मुलुकको लागि आवश्यक जनशक्ति तयार गर्न समेत टेवा दिने विश्वास महानगरपालिकाले लिएको छ ।