आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा विरोध प्रदर्शन गर्ने, तुरुन्तै संसद् अधिवेशन बोलाउन माग

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार १८:३१ मा प्रकाशित (३ साल अघि) ५१६ पाठक संख्या

नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलगायत सरकारको निरंकुशताविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका नेता पौडेललाई कार्यक्रम गर्न अवरोध गर्दै प्रहरीले तीन घन्टासम्म नियन्त्रणमा लिएको थियो । सो घटनापछि देशभर कांग्रेस र सम्बद्ध भ्रातृ संस्थाहरूले त्यसको विरुद्धमा प्रदर्शन गरेका थिए । तनहुँ घटनाकै विषयमा छलफल गर्न शुक्रबार सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका थिए ।

बैठकले तनहुँ घटनासहित कोरोना रोकथाम, नियन्त्रण र राहत वितरणजस्ता कार्यमा सरकार असफल भएको, भ्रष्टाचार र अनियमितता बढेको तथा सर्वसत्तावादी आचरण लाद्न थालेको भन्दै मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना संक्रमणविरुद्ध आवश्यक र अत्यावश्यक काम गर्न नसकेकोलगायत निष्कर्षसहित त्यसको विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै, कांग्रेसले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । संसद् ठप्प हुँदा नागरिकका चासो र चिन्ताका विषयमा छलफल हुन नपाएको भन्दै संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसले यथाशीघ्र संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले गत १८ असारमा हठात् संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।