आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कसरी ल्याइँदै छ नेपालमा कोरोनाविरुद्धको खोप ?

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार १४:४४ मा प्रकाशित (३ साल अघि) ६७६ पाठक संख्या

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठ वटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाका कामलाई अघि बढाएको छ । उनले भने, ‘खोप व्यवस्थापन कसरी गर्ने ? जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन् । हामीसँग भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्छ । हाम्रो जोड जतिसक्यो अनुदानमा खोप ल्याउने हो । त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ ।’

खोप आयातमा सहजताका लागि औषधि अध्यादेशसमेत जारी भइसकेको छ । नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ, जसमा कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशतलाई प्राथमिकताका आधारमा निःशुल्क खोप लगाइनेछ । विश्वका गरिब राष्ट्रलाई खोपको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंक र गाभी सम्मिलित गठबन्धन बनेकाले यसलाई कोभ्याक्स नामकरण गरिएको हो । खोप खरिद प्रक्रियाका लागि बजेटको जोहो गर्ने काम भइरहेको छ ।

विश्वका विभिन्न देशमा एक सयभन्दा बढी खोपबारे अनुसन्धान भइरहेको बताइएको छ । तीमध्ये एघार वटा खोपबारे तेस्रो चरण (थर्ड फेज)मा अनुसन्धान भइरहेको छ भने उत्पादक कम्पनीले तीन वटा खोपको प्रभावकारिता ९० भन्दा माथि रहेको दाबी गरेका छन् ।

अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोपले ९५ प्रतिशत सफलता हात पारेको दाबी गरेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप एमआरएनए—१२७३, ९४.५ प्रतिशत र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर निर्माण गरेको खोप ७० प्रतिशत प्रभावकारी भएको ती कम्पनीले दाबी गरेका छन् । यस्तै, रुसी खोप स्पुतनिक–भी ९२ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । हालसम्म सबैको प्रारम्भिक नतिजा आए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन ।