आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

पत्रकारितामा महिला सहभागिता बढाउन सेजनले सुरु गर्‍यो तालिम

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार ०६:५५ मा प्रकाशित (३ साल अघि) ४७२ पाठक संख्या

काठमाडौं- पत्रकारितामा महिला सहभागिता बढाउन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आधारभूत पत्रकारिता तालिम सुरु गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को सहयोगमा सेजनले पत्रकारिता गर्न इच्छुक र भर्खर सुरु गरेका महिलाको लागि वेबिनारमार्फत् तालिम सुरु गरेको हो। ६ वटा प्रदेशमा गरिने तालिम अन्तर्गत १ सय ८० महिला सहभागी हुने आयोजकले जानकारी दिएको छ।

बागमती प्रदेशबाट सुरु भएको तालिम बिहीबारदेखि कर्णाली प्रदेशका महिलाका लागि सुरु भएको हो। ३० जना सहभागी तालिमको उद्घाटन गर्दै कर्णाली प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले महिला पत्रकार वृद्धि र दिगोपनका लागि प्रदेश सरकाले सहयोग गर्ने बताइन्। पुरुष पत्रकारहरु अघि बढिसकेको तर उनीहरुलाई भेटाउन महिला पत्रकारहरु दौडनुपर्ने अवस्था भएको मन्त्री केसीको भनाई थियो।

कार्यक्रममा युएनडिपीकी कर्णाली प्रदेशकी सजनी चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सिजुवाल, कर्णाली प्रदेशका उपाध्यक्ष डम्बर आचार्यलगायतले महिला पत्रकारिताबारे चर्चा गरेका थिए।

३५ जना सहभागी बागमती प्रदेशको तालिमको उद्घाटनमा भने शिक्षा मन्त्रालयकी उपसचिव दिव्या दवाडी, युएनडिपीकी आवासीय प्रतिनीधि आइसा निलावे, आइएफसिकी नेपाल भुटान र बंगलादेशकी देशीय निर्देशक वेन्डी वर्नरलगायतले पत्रकारितामा महिला सहभागी कमभएको भन्दै उनीहरुलाई पत्रकारिता ल्याउनका लागि तालिमका साथै उचित सहजीकरण र समन्वय आवश्यक रहको बताए।

बागमती प्रदेशको पत्रकारिता तालिममा पत्रकारहरु यशोदा तिमल्सिना, जुनारबाबु बस्नेत, भीम गौतम र सविन मिश्रले प्रशिक्षण दिएका थिए भने कर्णालीको बिहीबारको तालिममा जीवन बस्नेत र रञ्जु काफ्लेले प्रशिक्षण दिएका थिए।

६ प्रदेशका १ सय ८० महिलालाई तालिम दिएर उनीहरूलाई विभिन्न मिडियामा आबद्ध गराउने तथा उनीहरुलाई पत्रकारितामा सक्रिय बनाउन आवश्यकताअनुसार थप तालिमहरु समेत गर्ने योजनासहित महिलाका लागिमात्र सेजनले तालिम सुरु गरेको अध्यक्ष भीम गौतमले जानकारी दिए।