आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

‘नेपालमा कोरोना भाइरसको दोस्रो लहर आउने खतरा’

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार ०६:५७ मा प्रकाशित (३ साल अघि) ४३८ पाठक संख्या

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन्।

डा. कार्कीले कोभिड–१९ संक्रमण दर नेपालमा घटेको दाबी गरे। उनले विश्वका कतिपय देशमा संक्रमणको दोस्रो लहर देखिएको सुनाउँदै नेपालमा पनि त्यो खतरा रहेको सुनाए।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै डा. कार्कीले नेपालमा संक्रमणको दर घट्नु भनेको खुशीको कुरा भएको जनाए।

‘​​सेकेण्ड वेभ आयो भने कसरी हामी जुध्ने भनेर दरिलो तयारी गर्नुपर्छ। हुन त कोभिड हामी सबैको लागि नयाँ कुरा भयो, अहिले कोरोना आएको पनि एक वर्ष पुग्न लाग्यो, यसबारेमा अझै धेरै जानकारी छैन’, उनले भने, ‘उपचारको सवालमा सरकारले क्षमता अभिवृद्धि गरिरहेको छ। सरकारले ६ हजार एचडियु निर्माणको लागि देशभर पैसा पठाएका छौं।’

साक्षात्कारमा बोल्दै उनले कोभिडको उपचारको लागि सरकारले यथेष्ट बेड पनि छुट्याएको सुनाए। यसअघि १५ सय ९५ आईसियु बेड रहेकोमा अहिले २६ सय बेड फंक्सनमा रहेको पनि उनले जानकारी दिए।

‘अहिले हामीले भेन्टिलेटर बढाएका छौं। अक्सिनको सवालमा, सि–प्याब र बाई–प्यावको व्यवस्था भइराखेको छ। सेकेण्ड वेभ आयो भने त्यसलाई धान्नेगरि हामीले अस्पताल प्रणाली र उपचार प्रणाली व्यवस्था गरिरहेका छौं’, उनले भनेका छन्।

अस्पताललगायतका भौतिक संरचना निर्माणका साथै दक्ष जनशक्तिको लागि पनि सरकारले विशेष ध्यान दिएको उनको भनाई छ। उनले भने,‘एचडियु, सि–प्याब, बाई–प्याबको लागि दुई सय पचास बढी डाक्टरलाई तालिम दिने काम भएको छ।’

कार्कीले सरकारले तीन सय ९६ वटा आधारभूत अस्पतालको यही मंसिर १५ गते शिलान्यास गरिसकेको जनाउँदै यो महत्वपूर्ण उपलब्धि भएको सुनाए।
उनले भने,‘हामीले आधारभूत अस्पतालको शिलान्यास मात्रै गरेका छैनौं, चाहिने बजेट पनि पक्का गरेका छौं। दुई वर्षभित्र सबै अस्पताल बन्छन्। यसको लागि करिब ५८ अर्ब बजेट पठाइएको छ।’

त्यस्तै, रोग नियन्त्रण केन्द्र निर्माणको लागि पनि कानून बनाउने प्रक्रियाको थालनी गरिएको कार्कीको भनाई छ। मास्क र पिपिई क्वालिटीको मात्रै उपलब्ध गराउने र अस्पतालहरुलाई पनि आईएसओ, एफिलिएशन र एक्रिडिएशन दिने चलन नभएको सुनाउँदै अब गुणस्तरीय बनाउन पनि प्रत्यांग प्राधिकरण स्थापनाको थालनी गरिएको उनले सुनाए।

भौतिक संरचना बनाउने काम मात्रै नभएर सरकारले दक्ष जनशक्तिको लागि पनि आवश्यक कदम चालेको कार्कीले जनाए।

‘यसको लागि सरकारले ठूलो लगानी गर्दैछ। दक्ष जनशक्तिलाई दुर्गममा गएर सेवा दिनको लागि हामीले प्रोत्साहन गरिराखेका छौं। कतिपय सांसदज्यूहरू आउनुहुन्छ , उनले भने, ‘उहाँहरुले मेरो क्षेत्रमा दक्ष चिकित्सक नै छैनन् भन्नुहुन्छ, फेरि उहाँहरु नै आफ्नो नातेदार चिकित्सक भए काठमाडौंमा नै राखिदिन भन्नुहन्छु। प्रेसर दिनुहुन्छ।’

कार्कीले विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराइने विश्वास दिलाए। उनले भने,‘अरु देशका नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाउने बित्तिकै नेपाली नागरिकले पनि लगाउने गरि हामीले तयारी थालेका छौं।’