आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अपांगता भएका व्यक्तिहरुलाई राज्यको निर्णायक संरचनामा सहभागिताको व्यवस्था हुनुपर्छ : देउवा

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार ०६:५१ मा प्रकाशित (३ साल अघि) ५०२ पाठक संख्या

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा उल्लेख्य संख्यामा रहेका अपांगता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने कांग्रेसको धारणा रहँदै आएको बताएका छन्।

अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसर शुभकामना दिँदै उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपांगता भएका व्यक्तिहरुलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको बताएका छन्। उनले अपांगता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि कांग्रेस सदैव क्रियाशील रहिरहने उल्लेख गरका छन्।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपांगता भएका व्यक्तिहरुले पु¥याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उनले बताएका छन्।

सभापति देउवाले अपांगता भएका व्यक्तिहरूमा अन्तरनिहित क्षमता, दक्षता, सीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपांगता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रियरूपमै अपांग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ।