आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

चालक अनुमति पत्रका लागि खुल्नेभयो अनलाइन आवेदन : कसरी भर्ने फारम ?

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार ०६:४६ मा प्रकाशित (३ साल अघि) ४७८ पाठक संख्या

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तथा रोकथामका लागि बन्द भएको सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने भएको छ ।

सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुला गर्न लागेको हो । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको छ ।

सूचनामा उल्लेख भए अनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र त्यस अन्तर्गत कार्यालयको माग अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम  खुला हुनेछ ।

आवेदन दिन इच्छुक व्यक्तिले प्रदेशको सम्बन्धित मन्त्रालय र यातायात कार्यालयमा गएर आवेदनका लागि सम्पर्क गर्न सक्नेछ । त्यसका लागि सरकारले सातै प्रदेशका विभागीय मन्त्रालयका सूचना अधिकारी र सम्बन्धित व्यक्तिको नम्बर उपलब्ध गराएको छ ।

सातै प्रदेशका सम्पर्क व्यक्तिको नम्बर ​

उपत्यकामा चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए ।

सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् ।

सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उनको भनाइ छ ।

सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो । असारदखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए । दशैँ पहिलेसम्म धेरै कार्यालय बन्द रहेकाले फुर्सद्को समयमा चालक अनुमतिपत्र लिन आउने र नवीकरणका लागि आउने सेवाग्राहीका कारण कार्यालयमा धेरै भीड हुने गरेकोे थियो ।

प्रदेश सरकार मातहातको कार्यालय भएकाले वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ अनुमतिपत्र खुल्नेछ ।

उपत्यकामा रहेका धेरै ड्राइभिङ प्रशिक्षण केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्न लागेको भन्दै सेवाग्राहीलाई सिकाइरहेका छन् । तिहारलगत्तै उपत्यकाका धेरै केन्द्रमा सिक्नेको भीड देख्न सकिन्छ ।