आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बढ्यो सुनचाँदीको कारोबार

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार ०६:०८ मा प्रकाशित (३ साल अघि) ४५३ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको महामारी तथा मूल्य निकै बढी हुँदा प्रभावित नेपाली सुनचाँदी बजार करीब १० महीनापछि चलायमान भएको छ । विवाहको सिजनका कारण मङ्सिर महीनामा सुनचाँदीको व्यवसाय अघिपछिभन्दा बढी भएको हो ।

हाल दैनिक २० केजीदेखि २५ केजीसम्म काचो सुन खपत हुने गरेको छ । नेपालमा विवाहमा सुनका गरगहना लगाउने, गरगहना आदानप्रदान गर्ने प्रचलन छ । फलस्वरूप मङ्सिर, माघ, वैशाखजस्ता विवाहको सिजनका महीनामा सुनचाँदीको कारोबार उच्च हुने गर्छ । अहिले विवाहको समय भएकाले मङ्सिरमा व्यवसाय बढेको व्यवसायीहरू बताउँछन् ।

मूल्य निकै बढेका कारण गतवर्षदेखि नै सुनचाँदीको व्यवसाय नराम्ररी प्रभावित भएको थियो । यद्यपि, गतवर्ष पनि मङ्सिर र माघमा भने सुनको कारोबार राम्रो भएको थियो । त्यसयताका दिनमा भने सुनचाँदी बजार ठप्प थियो । तीज, दशैं, तिहारजस्ता चाडपर्वमा पनि सुनचाँदीको व्यवसाय अत्यन्त न्यून रहेको व्यवसायीको भनाइ छ । तर, मङ्सिर महीना शुरू भएपछि सुनचाँदी बजार चलायमान भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘मूल्य बढ्दा र कोरोना भाइरसको महामारीका कारण गत फागुनदेखि सुनचाँदीको व्यवसाय अत्यन्त न्यून थियो ।

तर, अहिले भने बजार केही चलायमान भएको छ,’ उनले भने, ‘यसको मुख्य कारण नै विवाहको सिजन हो । साथै, मूल्य घट्दा पनि कारोबार बढ्न सहयोग पुगेको छ ।’
सरकारले चैत ११ गतेदेखि ४ महीनासम्म लगाएको बन्दाबन्दीको समयमा ठप्प भएको सुनचाँदी व्यवसाय बन्दाबन्दी खुले पनि चलायमान भएको थिएन । तर, अहिले भने सुनचाँदीको व्यवसाय सन्तोषजनक रूपमा अगाडि बढेको शाक्यको भनाइ छ ।

सामान्य अवस्थाको तुलनामा भने अहिले निकै कम कारोबार भएको शाक्य बताउँछन् । मङ्सिर महीनामा दैनिक ४० केजीभन्दा बढी सुन खपत हुने गर्दथ्यो । तर, अहिले त्यसको आधाआधीमात्रै कारोबार भएको शाक्य बताउँछन् । ‘यत्तिको कारोबार अपेक्षित नै हो । यसलाई हामीले सकारात्मक रूपमा नै लिएका छौं,’ उनले भने ।

बैंकहरूले मङ्सिरलाई नै लक्षित गरेर तिहारपछि ३०० केजी सुन आयात गरेका थिए । अहिले सोही सुनमार्फत आपूर्ति व्यवस्थापन गरिएको छ ।

अबका दिनमा सुनचाँदीको कारोबार कस्तो हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ । ‘सुनको मूल्य अहिले घटे पनि फेरि बढ्ने संकेत देखिएको छ । त्यसमाथि विवाहको लगन पनि छैन,’ उनले भने, ‘अब आगामी वैशाखमा मात्र सुनचाँदी व्यवसाय राम्रो हुन सक्ने देखिन्छ ।’

चीन र अमेरिका बीचको व्यापार युद्धका कारण मूल्य बढ्दा गतवर्षको साउनदेखि नै सुन व्यवसाय ठप्पप्रायः थियो । त्यसमाथि कोरोना भाइरसको महामारी शुरू भएपछि सुनको कारोबार थप प्रभावित भएको थियो ।

नेपालमा सुनचाँदीको मूल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । गतवर्षको असारसम्म नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ थियो । तर, अमेरिका र चीनको व्यापार युद्धका कारण अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेपछि त्यो ८५ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यसपछि घट्न थालेको सुनको मूल्य कोरोनाको महामारी शुरू भएपछि पुनः बढेर प्रतितोला १ लाखभन्दा माथि गएको थियो । यसरी मूल्य बढेपछि यसको कारोबार घटेको थियो । हाल नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ ।