आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोना जित्ने आशा पलायो

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार ०५:२२ मा प्रकाशित (३ साल अघि) ४६८ पाठक संख्या

बेलायत,  कोरोना महामारीबिरुद्धको खोप विकास र प्रयोगको होडबाजीमा पहिलो राष्ट्र बनेको छ । उसले बुधबार फाइजर–बायोएनटेक कम्पनीले विकास गरेको कोभिड–१९ को खोप प्रयोगलाई स्वीकृति दिएपछि सबैले अनुमान गरेको अमेरिकालाई पछि पार्दै पहिलो बनेको हो । यसलाई चिकित्सा विज्ञानको सफलतामा अर्को कोशेढुंगा मानिएको छ ।

बेलायतको मेडिसिन र हेल्थकेयर उत्पादन नियामक एजेन्सी (एमएचआरए) ले दिएको आपतकालीन प्रयोगको स्वीकृतिलाई प्रधानमन्त्री बोरिस जोन्सनले महामारीमा देखिएको आशाको किरण भन्दै यसबाट अब आफ्ना ६ करोड ७० लाख नागरिकलाई तत्काल उक्त खोप लगाउने चुनौतिसमेत थपिएको बताएका छन् ।

उनले भनेका छन् ‘बेलायतको पछिल्लो कदमबाट कोरोना भाइरस बिरुद्ध लड्न सकिने आशा जगाएको छ । किनकि यसबाट विश्वमा १५ लाख मानिसको निधन भइसकेको छ भने यसले विश्व अर्थतन्त्रलाई समेत ठूलो क्षति पुर्याएको छ । अब भने विश्वका अरबौं मानिसको दैनिकी र जनजीवनमा सुधार आउनसक्ने सम्भावनालाई बढाएको छ ।’

फाइजर–बायोएनटेकको कोरोना बिरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी रहेको भनेर फाइजरले अन्तिम चरणको क्लिनिकल परीक्षणबाट पहिलो डाटा प्रकाशित गरेको २३ दिनपछि नै प्रयोगको लागि स्वीकृति पाएको हो ।

बेलायतले फाइजरको बेल्जियमस्थित कारखानाबाट आठ लाख डोज खोप प्राप्त गरेपछि सम्भवतः अर्को हप्ताको शुरुदेखि कमजोर स्वास्थ्यका कारण अन्तिम अवस्थामा पुगेकाहरूलाई लगाउन शुरु गर्ने बताएको छ । बेलायती प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै भनेका छन् ‘यो नबुझौं कि अहिले नै यो खोप अन्य खोपझैँ सबै बेलायतीको लागि हो ।’