आज: ५ माघ २०७७, सोमबार | Mon, 18, Jan, 2021

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार ०७:५६ मा प्रकाशित (१ महिना अघि) ९६ पाठक संख्या

बर्लिन, एएनआई । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको छ ।

यदि युनियनले स्वीकृत गरेमा युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

दुबै कम्पनीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा सोमबार युरोपेली मेडिसिन एजेन्सी (इएमए) मा औपचारिक निवेदन दिइएको उल्लेख छ ।

गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्नेगरी अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष निवेदन दिइरहेको छ ।

युरोपेली नियामक निकायले फाइजरले पेश गरेको विवरणको मूल्याङ्कन गरी खोप लगाउन उपयुक्त रहे नरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ ।

फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापान समेतका मुलुकहरुका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ ।