आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

प्रचण्डलाई पार्टीबाटै कारवाही गर्ने ओलीको धम्की, सोधे – तपाईंलाई किन कारबाही नगर्ने ?

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार ०७:१२ मा प्रकाशित (३ साल अघि) ३८५ पाठक संख्या

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारवाही गर्ने चर्चासम्म पुगेको छ ।

मंगलबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई पार्टीको ‘लेटरहेड’ दुरुपयोग गरेर गल्ती गरेको आरोप लगाउँदै कारवाही गर्नेसम्मको कुरा गरेका छन् ।

सचिवालयमा विचाराधीन रहेको विषयलाई तल्ला कमिटीमा लैजाने नाममा प्रचण्डले पार्टीको छाप, लेटरप्याड दुरुपयोग गरेकाले कारबाहीको भागिदार हुनुपर्ने धारणा ओलीले बैठकमा राखेको नेकपा स्रोतले जनाएको छ ।

‘केन्द्रीय कार्यालयमा नाम र लोगो प्रयोग गरेर जुन पुस्तिका छाप्नुभएको छ । यो पार्टीको विधान, पद्धति र अनुशासनविपरीतको काम हो । कसको निर्णय, कसको अनुमतिले छाप्नुभयो । यो तपाईंको निजी पार्टी त होइन । पार्टीको निर्णयबेगर पार्टी कार्यालयका तर्फबाट भनेर पार्टीको लोगो प्रयोग गरेर कसरी छाप्न सक्नुभयो ? तपाईंलाई किन कारबाही नगर्ने ?’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

पार्टीभित्र अल्पमतमा परेका ओलीले पार्टीको औपचारिक बैठकमा विवादित प्रस्तावबारे छलफल गर्न नहुने विचार राखेका छन् । तर प्रचण्ड पक्ष भने बहुमतको आडमा ओलीमाथि गम्भीर आरोप लगाइएका प्रस्तावबारे छलफल गर्ने रणनीतिमा छ । प्रचण्डकै जोडबलमा बुधवार दिउँसो १ बजे बस्ने गरी पुनः सचिवालय बैठक बोलाइएको छ भने ओलीले सचिवालय बैठकमा सहभागी नहुने संकेत गरेका छन् ।