आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोभिडका कारण रोकिएको चिनियाँ सैन्य सहयोग अब सुचारु हुने

गोकर्णेश्वर खबर१४ मंसिर २०७७, आईतवार २०:१८ मा प्रकाशित (३ साल अघि) ३५५ पाठक संख्या

काठमाडौं : नेपालको एक दिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले कोभिडका कारण रोकिएका सैन्य सहयोग अब सुचारु हुने बताएका छन् ।
सैनिक मुख्यालय भद्रकालीमा आइतबार दिउँसो भएको प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा चिनियाँ रक्षामन्त्री वेइले रोकिएका सैन्य सहयोग सुचारु गर्ने जानकारी दिएका हुन् ।
चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो, नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, जसमा मुख्यतः कोभिड १९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भयो ।


गत वर्ष भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी सम्झौता भएको थियो । तर, कोभिडका कारण सम्झौता कर्यान्वयन हुन सकेको थिएन ।
बिहान साढे दश बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका वेई अपरान्ह दुई बजे चिनियाँ प्रतिनिधि मण्डलसहित सैनिक मुख्यालय पुगेका थिए । सैनिक मुख्यालयमा उनलाई सम्मान गारत अर्पण गरिएको थियो ।
त्यस्तै वेइले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।
रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीलाई भेट्न वेइ प्रधानमन्त्री निवास बालुवाटार  पुगेका थिए ।
सो भेटमा दुई पक्षीय सम्बन्ध र साझा चासोका बारेमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्रीसँगको भेट लगत्तै वेइ राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा पनि दुई देशको हितका विषयमा छलफल भएको जनाइएको छ ।