आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024

जनसम्पर्क समितिका अध्यक्षहरुको निश्कर्ष : इमान्दारलाई मौका, बेइमानलाई कारवाही

गोकर्णेश्वर खबर११ मंसिर २०७७, बिहीबार ०६:०५ मा प्रकाशित (३ साल अघि) २१७ पाठक संख्या

काठमाडौं : नेपाली कांग्रेसको प्रवासमा क्रियाशील भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिका अध्यक्षहरुले मंगलबार एउटा निश्कर्ष निकाले, इमान्दारहरुलाई अवसर र बेइमानलाई कारवाही ।

एक तिर, दुई निशाना । अध्यक्षहरुले एकैसाथ प्रहार गरे । संगठन भित्र र बाहिर । संगठन भजाउने र संगठनका नाममा संगठनलाई नै हानी गर्ने केही प्रवृत्तिविरुद्ध उत्रने यो उनीहरुको जमर्को थियो ।नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन, त्यसै अन्तर्गत हुने जनसम्पर्क समितिहरुको अधिवेशन र गैरआवासीय नेपाली संघको आगामी विश्व सम्मेलनलाई लक्षित गरी उनीहरुले छलफल थालेका छन् ।
कांग्रेसले विश्वका ३५ देशमा जनसम्पर्क समिति गठन गरेको छ ।

भर्चुअल बैठकमा दुई आमन्त्रित केन्द्रीय सदस्यहरु आनन्द विष्ट (अमेरिका) र बालकृष्ण पाण्डे (भारत) को पनि सहभागिता रहेको थियो ।
बैठकमा विशेषगरी जनसम्पर्क समितिहरुको गतिविधि र समन्वय तथा गैर आवासीय नेपाली संघको आगामी विश्व सम्मेलनका बारेमा छलफल भएको जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरेले जानकारी दिए । संघको गत विश्व सम्मेलन (अधिवेशन) मा हामी किन पराजित भयौं ? यसको गम्भीर विश्लेषण र छानबिन आवश्यक छ, उनले भने, आपसी झगडा र अन्तर्घात नै हाम्रो पराजयको कारण हो ।

अन्तर्घात गर्नेहरुको पहिचान भइसकेकाले अब संगठनले कारबाही गर्नुपर्ने उनको माग छ । आधिकारिक निणर्य वाध्यकारी हुन्छ, उनले भने, नमान्ने व्यक्ति तथा पदाधिकारीलाई छुट दिइनु हुँदैन ।
बैठकमा जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाको तर्क पनि यस्तै थियो । एनआरएनएको हालको नेतृत्व विदेशमा रहेका नेपालीहरुको हितमा भन्दा पनि दलीय आस्थाका आधारमा अगाडि बढेको उनले दावी गरिन् । पार्टीगत हुनु हुंदैनथ्यो, उनले भनिन्, अहिलेको नेतृत्वले पार्टीगत आधारमा गतिविधि गरेकाले अब हामी पनि सक्रिय हुनुपर्ने अवस्था आयो ।

जनसम्पर्क समितिमा घुसेर अवसर लिने र विपक्षीलाई सहयोग गर्ने प्रवृत्ति हावी हुँदै गएकाले अब ती अवसरवादीको पहिचान गर्ने समय आएको उनले बताइन् ।
त्यसैगरी जनसम्पर्क समिति जर्मनीका अध्यक्ष शिखर खड्काले आँफूलाई कांग्रेस भन्ने तर भोट कम्युनिष्टलाई हाल्नेहरुलाई बहिष्कार गर्नुपर्ने बताए । गत चुनावमा यूरोप र अमेरिकामा त्यस्ता चरित्र देखिए, उनले थपे, के अझै पनि त्यस्तैलाई प्रश्रय दिइरहने ?

खड्काका अनुसार संघको आगामी अधिवेशनका लागि अहिलेबाट नै तयारी थाल्नुपर्छ । त्यसका लागि जनसम्पर्क समितिहरुले आवश्यक समन्वय र जानकारी आदान प्रदानका लागि सहयोग गर्नु पर्दछ ।

क्रियाशील सदस्यतादेखि वैधानिक संस्थाबारे छलफल 
बैठकमा जनसम्पर्क समितिहरुको अधिवेशन र त्यसको तयारीका बारेमा गम्भीर छलफल भएको सहभागीहरुले बताएका छन् । पार्टी केन्द्रीय कार्यालयले अधिवेशन गर्नुपर्ने सूचना पठाए पनि क्रियाशील सदस्यता नै नपठाएको भन्दै अधिकांश अध्यक्षहरुले असन्तुष्टि जनाएका थिए ।
पार्टीका नेताहरुले नै विदेशमा रहेका समर्थक र कार्यकर्ताबीच फुट ल्याउने काम गरेका छन्, बेल्जियम अध्यक्ष सापकोटाले भनिन्, यस्तो गुटबन्दी गर्ने काम बन्द गरिनुपर्छ । ‘गुटबन्दी गर्नुपर्ने भए नेपालमै गर्नुस्, विदेशमा रहेका कार्यकर्तालाई गुटको शिकार नबनाउनुस्,’ सापकोटाले भनिन् ।
त्यसैगरी बैठकमा पछिल्लो समय चर्चा र विवादमा रहेका युरोप समन्वय समिति र विश्व सञ्जालका बारेमा पनि छलफल भएको थियो । पार्टीको विधानले चिनेका बाहेक अन्य कुनै पनि नाम र ब्यानरमा सक्रिय हुन नसकिनेमा अधिकांश अध्यक्षहरुले सहमति जनाएका छन् ।
बैठकमा सहभागी आमन्त्रित केन्द्रीय सदस्यद्वय विष्ट र पाण्डेयले बैठकमा उठेका विषयहरुलाई केन्द्रीय समितिमा पुर्‍याइने बताएका थिए ।