आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024

निर्माणधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनलका लागि टेन्डरको तयारी हुँदै

गोकर्णेश्वर खबर७ मंसिर २०७७, आईतवार ०६:५४ मा प्रकाशित (३ साल अघि) ७४१ पाठक संख्या

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि टेन्डर प्रक्रियामा जाने तयारी गरेको छ ।

एशियाली विकास बैंक (एडीबी) ले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि थप १८ अर्ब ऋण स्वीकृत गरेपछि प्राधिकरणले सो तयारी थालेको हो ।

बैंकको बोर्ड बैठकले केही समयअघि नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको थियो । एडीबीसँग यस विषयमा सम्झौता भई कार्यान्वयनको चरणमा गइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

यो रकमबाट मूल रूपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनलगायत काम र त्रिभुवन विमानस्थलको समानान्तर ट्याक्सी वेको निर्माण, एप्रोन तथा पार्किङजस्ता पूर्वाधार निर्माण गरिने उनले बताए ।

‘त्रिभुवन विमानस्थल र गौतमबुद्धको मास्टर प्लानअनुसार नै यी काम हुनेछन् । एडीबीसँग सम्झौता भएकाले अब हामी छिट्टै टेन्डरको प्रक्रियामा जान्छौं,’ महानिर्देशक पोखरेलले भने । (आर्थिक अभियान)