आज: १० मंसिर २०७७, बुधबार | Wed, 25, Nov, 2020

कोरोना भ्याक्सिनबारे थाहा पाउनु पर्ने १० कुरा

गोकर्णेश्वर खबर२ मंसिर २०७७, मंगलवार १६:५२ मा प्रकाशित (१ हफ्ता अघि) २३ पाठक संख्या
स्केच द इकोनोमिस्टबाट साभार।

झन्डै एक वर्षदेखि कोरोनाभाइरसको महामारी भोगेर र यसबारे सुनेर आजित भएका तपाईं-हामीले केही दिनयता निकै आशा लाग्दा खबर सुनिरहेका छौं।

संसारभरका साढे पाँच करोड मानिसमा संक्रमण भएको र १३ लाख बढी मानिसको ज्यान लिएको कोभिड-१९ विरूद्ध विभिन्न कम्पनीहरूले बनाएका भ्याक्सिन अन्तिम चरणमा पुगेका छन्। तीमध्ये अहिलेसम्म दुइटा भ्याक्सिनले तेस्रो चरणको परीक्षणको तथ्यांक सार्वजनिक गरेका छन्। कोभिडविरूद्ध ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएका ती भ्याक्सिनले संसारभरि नयाँ आशा र भरोसा जगाएका छन्।

कोभिड-१९ विरूद्धका भ्याक्सिनहरू अन्तिम चरणमा पुगे पनि तपाईं-हामीसम्म आइपुग्न भने अझै केही महिना लाग्न सक्छ। नेपालजस्ता  साना र गरिब मुलुकमा कोरोना भ्याक्सिन सर्वसुलभ रूपमा उपलब्ध हुन अझै धेरैथोक गर्न बाँकी छ।

कोभिड-१९ विरूद्धका भ्याक्सिन कसरी बनिरहेका छन् र कहिले सर्वसुलभ हुन्छन् भन्नेबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका विवरणमा आधारित भएर  १० बुँदे ब्रिफिङ तयार पारेको छ:

१. समय

अहिलेसम्म भ्याक्सिन बनाउन वर्षौं लाग्थ्यो। धेरैजसो भ्याक्सिन बनाउन १० वर्षभन्दा बढी समय पनि लागेको छ। सबैभन्दा छिटो बनाएको मम्प्स (गाला फुल्ने) विरूद्धको भ्याक्सिन तयार हुन चार वर्ष लागेको थियो।

कोरोना भाइरस विरूद्धको भ्याक्सिनले भाइरसको जेनोम सार्वजनिक भएको १ वर्ष नपुग्दै तयार भएर मानिसमा लगाउन अनुमति पाउने निश्चित छ। अहिलेसम्म सिनोभ्याक,  मोडेर्ना, स्पुतनिक भी, फाइजर/बायोएनटेक, नोभाभ्याक्स, अष्ट्राजेन्का/ अक्स्फोर्ड र जोन्सन एन्ड जोन्सनले बनाइरहेका भ्याक्सिन तेस्रो चरणमा पुगेका छन्।

२. नयाँ प्रविधि

भ्याक्सिन बनाउने अहिलेसम्मको तरिका कमजोर बनाइएको भाइरस वा ब्याक्टेरियालाई कमजोर पारेर शरीरमा हाल्ने थियो। कमजोर पारिएको भाइरस हालेकाले भ्याक्सिन लगाएको व्यक्ति बिरामी पर्दैन तर भाइरसको कमजोर पारिएकै अंश पनि शरीरका लागि बाहिरी कुरा भएकाले प्रतिरक्षा प्रणालीले त्यसमा प्रतिक्रिया जनाउँछ र त्यसविरूद्ध लड्ने हातहतियारको बन्दोबस्त गर्थ्यो। पछि त्यही भाइरस शरीरमा आए भ्याक्सिनपछि तयार पारेका हतियार प्रयोग गरेर त्यसलाई परास्त गर्छ भनेर यो विधि प्रयोग गरिन्थ्यो।

अहिले कोभिड-१९ का विरूद्ध अन्तिम चरणमा रहेका भ्याक्सिनमध्ये फाइजर र मोडेर्नाले भाइरसको अंश नहालेर मेसेन्जर आरएनए प्रयोग गरेका छन्।

यिनीहरूले भ्याक्सिनमा म्यासेन्जर(सन्देशवाहक) आरएनए  हालेर शरीरमा पठाएपछि शरीरले आफैं स्पाइक प्रोटिन बनाउँछ र त्यो स्पाइक प्रोटिनका विरूद्ध प्रतिरक्षा प्रणालीले आक्रमण गर्छ र हतियारको बन्दोबस्त गर्छ भन्ने सिद्धान्तमा आधारित भएर यो विधि प्रयोग गरेका हुन्।

यो प्रविधिको मुख्य फाइदा भनेको मेसेन्जर आरएनए भ्याक्सिन प्रयोगमा ल्याएपछि यो भाइरस म्युटेड भयो भने पनि तुरून्तै म्युटेड भएको  भाइरसलाई काम लाग्ने भ्याक्सिन  बनाउन सकिन्छ।

म्युटेड भएको भाइरसको प्रोटिन बनाउने सन्देश बोकेको नयाँ मेसेन्जर आरएनए मात्रै परिवर्तन गरेर अरू सबै यही भ्याक्सिन हालेर  तुरून्तै उत्पादन गर्न सकिन्छ।

अहिलेसम्म मेसेन्जर आरएनए प्रयोग भएको कुनै पनि भ्याक्सिनले अनुमति पाएको छैन।  फाइजर र मोडेर्नाका भ्याक्सिन यो विधिमा बनाएर प्रयोगमा आउने पहिलो भ्याक्सिन हुनेछन्।

यो प्रविधि नौलो भएकाले यसको दीर्घकालसम्म के असर हुन्छ भनेर हेर्न बाँकी नै छ।

३. निशानामा कोभिड-१९ को स्पाइक

कोरोना भाइरसविरूद्ध बनिरहेका सबै भ्याक्सिनको एउटा समानता यी सबै भ्याक्सिनले स्पाइक प्रोटिनलाई टार्गेट गरेका छन्। कोरोना भाइरसको सबैभन्दा  फरक चिज भनेकै यही स्पाइक हो। यो भाइरसले शरीरमा आक्रमण गर्न त्यही स्पाइक प्रयोग गर्ने र अरू थोकमा म्युटेसन भएर बदलाव आए पनि स्पाइकमा खासै परिवर्तन नहुने भएकाले सबै भ्याक्सिनले यसैलाई टार्गेट गरेका हुन्।  रूसले बनाएको स्पुतनिक भीलगायत सबै अरू कम्पनीले अडेनोभाइरसमा कोरोनाभाइरसको स्पाइक प्रोटिन हाल्छन्।

४. उच्च प्रभावकारिता

अहिले अमेरिकालगायत पश्चिमा देशहरूमा वर्षेनी लगाउने फ्लू भ्याक्सिनको  प्रभावकारिता ५० प्रतिशतकै हाराहारीमा छ।अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले ५० प्रतिशत हाराहारीको प्रभावकारिता भएको  भ्याक्सिनलाई मान्यता दिने तयारी गरेको थियो। अमेरिकाका संक्रमण रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले पनि ७५ प्रतिशतभन्दा माथि प्रभावकारिता हुनु भनेको सबैभन्दा उत्तम भए पनि ५०-६० प्रतिशतसम्म स्वीकार्य हुने बताएका थिए।

अहिले फाइजर/बायोएनटेक कम्पनीले आफ्नो भ्याक्सिनको प्रभावकारिता ९० प्रतिशत र मोडेर्नाले ९४.५ प्रतिशत रहेको बताएका छन्।

फाइजरले परीक्षणमा भाग लिएर कोरोना भएकाहरूबारे विस्तृत खुलाएको छैन। मोडेर्नाले भने परीक्षणमा भाग लिएकामध्ये ९५ जनामा कोरोना देखिएपछि प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो। ती ९५ जनामध्ये ५ जनालेमात्र भ्याक्सिन लगाएका थिए। संक्रमित ९५ मध्ये ११ जना संक्रमणपछि गम्भीर भएका थिए तर उनीहरू कसैलाई पनि भ्याक्सिन लगाइएको थिएन। यसरी मोडेर्नाको प्रभावकारिता ९४.५ प्रतिशतमात्र भए पनि बाँकी ५.५ प्रतिशतलाई पनि गम्भीर समस्या नदेखिने निष्कर्ष निकाल्न सकिन्छ।

रूसले पनि आफ्नो भ्याक्सिन स्पुतनिक भीको प्रभावकारिता ९२ प्रतिशत भएको दाबी गरेको छ। स्पुतनिक भीको नतिजा फाइजर र मोडेर्नाजस्तो ठूलो संख्याको परीक्षणमा आधारित नभएकाले विश्वसनीयता अलि कम छ।

५. डबल डोज

अहिले अन्तिम स्टेजमा भएकामध्ये जोन्सन र जोन्सनबाहेक  चिनियाँ, रूसी, पश्चिमलगायत सबै भ्याक्सिन २ डोज लगाउनु पर्छ।फाइजरको भ्याक्सिन ३ हप्ताको फरकमा लगाउनु पर्छ भने मोडेर्नाको ४ हप्तापछि अर्को डोज लगाउनु पर्छ।

६. भण्डारण

फाइजरको भ्याक्सिन माइनस ७० वा ८० सेन्टिग्रेडमा राख्नु पर्छ। मोडेर्नाको भ्याक्सिनचाहिँ माइनस २० सेन्टिग्रेडमा भण्डारण गरे ६ महिनासम्म स्टोर गर्न मिल्छ।

यो तापक्रम भनेको प्राय: अस्पतालमा हुने फ्रिजहरूले मेन्टेन गर्ने तापक्रम हो। अझ मोडेर्नाको भ्याक्सिन त माइनस २० डिग्रीबाट झिकेर ३० दिनसम्म  २ देखि ८ डिग्री तापक्रममा राख्न सकिन्छ।

यो तापक्रम भनेको घरमा भएका सामान्य फ्रिजमा खानेकुरा/तरकारी फलफूल राख्ने तापक्रम हो।  यसो भएमा हाम्रोजस्तो देशका दुर्गम भागमा पनि अहिलेकै संयन्त्र प्रयोग गरेर भ्याक्सिन पुर्‍याउन सकिनेछ।

७. मूल्य

मोडेर्नाले आफूले बनाएको भ्याक्सिनको मूल्य प्रतिडोज ३५ देखि ३७ अमेरिकी डलर हुने बताएको छ। फाइजरले आफ्नो भ्याक्सिनको मूल्य तोकिसकेको छैन तर अपरेशन र्‍याप स्पिडले १० करोड डोजका लागि उसलाई १ अर्ब ९५ करोड डलर दिने भनेकाले उसको भ्याक्सिनको एक डोजको मूल्य १९.५० डलर पर्ने देखिन्छ।

बेलायत र अमेरिकामा  बनाएका भ्याक्सिन तुलनात्मक रूपमा महँगा हुन्छन्। तर तिनै भ्याक्सिन भारतलगायत अरू देशमा बनाउने सम्झौता भएका छन्।

भारतजस्ता देशमा बनाएका भ्याक्सिन बेलायत/अमेरिकाभन्दा धेरै सस्ता हुनेछन्। चीनले बनाएको भ्याक्सिन पनि अमेरिका,बेलायतमा बनाएको भन्दा सस्तो हुनेछ।

८.साइड इफेक्ट

दुइटै कम्पनीका भ्याक्सिन लगाएका मान्छेहरूमा सुईं घोपेको ठाउँमा दुख्ने, टाउको दुख्ने र अरू सामान्य समस्याबाहेक अरू केही खराब साइड इफेक्ट देखिएको छैन। करोडौं मानिसमा लगाएपछि भने दुर्लभ खालका साइड इफेक्ट देखिन सक्ने वैज्ञानिकहरूले बताएका छन्।

अहिले बनिरहेका भ्याक्सिन लगाउनु भयो भने तपाईंलाई कम्तिमा पनि एक वर्षसम्म कोरोनाबाट जोगाउँछ। अन्तिम चरणमा भएका अरू भ्याक्सिनहरू पनि प्रतिरक्षा प्रणालीको एन्टिबडी र टी सेल दुबै खालको हतियार उत्पादन गर्न सक्ने गरी डिजाइन गरिएको छ।

रोग लागेपछि उत्पादित एन्टिबडीजस्तै भ्याक्सिनपछि उत्पादित एन्टिबडी पनि समयअनुसार विस्तारै कम हुँदै जाने भएकाले फेरि चाहिएको बेलामा पहिलाको  कुरा सम्झेर तुरून्तै धेरै एन्टिबडी उत्पादन गर्न सक्छ भन्ने आशा छ।

टी सेलको हकमा यो आशा झन् ठूलो छ। भर्खरै कोभिड-१९ विरूद्धको टी सेलको रेस्पोन्सबारे गरिएको अनुसन्धानमा ६ महिनासम्म पनि टी सेल रहेको पाइएको छ। समय बित्दै जाँदा अझै कति महिनासम्म टी सेल भेटिन्छ भन्ने थाहा हुँदै जानेछ। २००२/२००३ मा फैलिएको सार्स महामारीका बेला केही व्यक्तिमा टी सेल एक दशकभन्दा बढी समयसम्म पनि पाइएकाले कोभिड-१९ को भ्याक्सिनको टी सेल रेस्पोन्स एक वर्षभन्दा धेरै काम गर्न सक्ने हुने आशा गर्ने ठाउँ छ।
९. सबैलाई पुग्ने भ्याक्सिन  

अहिले अन्तिम चरणको नतिजा फाइजर र मोडेर्नाको मात्रै आए पनि अरू कम्पनीहरूले पनि स्पाइक प्रोटिनलाई नै टार्गेट गरेकाले तिनीहरूको प्रभावकारिता पनि यस्तै उच्च हुने आशा गरिएको छ।

मोडेर्नाले सन् २०२० को अन्त्यसम्म २ करोड डोज भ्याक्सिन उत्पादन गर्न सक्ने बताएको छ भने फाइजरले ५ करोड  डोज बनाउन सक्ने भनेको छ।

विस्तारै अरू कम्पनीहरूका पनि नतिजा आउनेछन् र ती कम्पनीको पनि उच्च प्रभावकारिता देखियो भने ती भ्याक्सिन पनि वितरण गरिनेछन्।

भ्याक्सिन आएपछि सुरूमा फ्रन्टलाइनमा काम गर्ने र बढी जोखिम भएका मानिसहरूलाई प्राथमिकतामा राखेर लगाइनेछ। कतिपय धनी देशले आफ्ना देशका सबै नागरिकलाई पुग्ने गरी  भ्याक्सिन किन्नेछन्।

चीन, रूस, अक्स्फोर्ड, जोन्सन एन्ड जोन्सनलगायतका ४-५ वटा भ्याक्सिनको पनि प्रभावकारिता राम्रो आयो भने सबै कम्पनीको जोडेर सन् २०२१ को अन्त्यसम्ममा लगभग सबैलाई दिन पुग्ने भ्याक्सिन बनाउन सकिन्छ भन्ने आशा गरिएको छ।

भ्याक्सिनमात्र नभएर भ्याक्सिन राख्ने सिसाका भाइल, लगाउन चाहिने  सिरिन्ज पनि सबैलाई पुग्ने गरी बनाउनु चुनौतीपूर्ण छ।

अहिलेसम्म निश्चित उमेर समूहका र विशेषगरी बालबालिकाकालाई मात्र भ्याक्सिन लगाइन्छ। यसपालि संसारभरिका सबै मानिसहरूलाई भ्याक्सिन लगाउनु पर्ने भएकाले चुनौतीपूर्ण छ।
१०. नेपालले कसरी पाउन सक्छ?

अहिले फाइजर र मोडेर्नाको मात्रै अन्तिम चरणको प्रारम्भिक नतिजा आएको हो।  अझै धेरै कुरा थाहा हुन बाँकी छ। जस्तो कि यो भ्याक्सिन लगाएपछि कोभिड-१९ नलाग्ने मात्रै हो कि नसर्ने पनि हो भन्ने थाहा छैन। बिस्तारै यी कुराहरू सार्वजनिक हुनेछन्।

हामीले उसै पनि अहिले तुरून्तै यी भ्याक्सिन आफ्नै बुतामा ल्याउन सम्भव छैन। हामीलाई कुन भ्याक्सिन धेरै प्रभावकारी हुन्छ भन्ने विश्लेषण गर्नु जरूरी छ। त्यस्तो विश्लेषणका लागि बढीभन्दा बढी भ्याक्सिनको अन्तिम परीक्षणको नतिजा आउनु पर्छ।

नेपालजस्ता साना र गरिब मुलुकमा पनि भ्याक्सिन उपलब्ध होस् भनेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  पहल गरिरहेको छ। कोभ्याक्स नाम दिइएको उक्त अभियानमार्फत् भ्याक्सिनको विकास, उत्पादन र वितरणमा सबैलाई समान पहुँच दिने बताइएको छ।

यो अभियानमा अहिलेसम्म नेपालसहित १८० राष्ट्रले  सहभागिता जनाएका छन्। भ्याक्सिनको एलायन्स गाभी,  द कोलिएसन फर एपिडेमिक एन्ड प्रिपेयर्डनेस इनोभेसन र डब्लुएचओको यो अभियानले सन् २०२१को अन्त्यसम्म २ अर्ब डोज भ्याक्सिन वितरण गर्ने लक्ष्य राखेको छ।

अल्पविकसित मुलुकका लागि खोप उपलब्ध गराउन विश्व बैंक, युनिसेफलगायत संस्थाले पनि पहल गरिरहेका छन्। चीनले पनि अल्पविकसित मुलुकमा खोप अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ।

कोभिड-१९ विरूद्धको भ्याक्सिन अन्तिम चरणमा पुगेकाले धेरैलाई आशावादी बनाएको छ। तर अझै पनि यसले ठूलो संख्यामा काम गर्न बाँकी रहेकाले अहिलेलाई कोरोनाबाट जोगिने उपाय अपनाउनु नै महत्वपूर्ण छ।

नियमित साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडमा नजाने र सही तरिकाले मास्क लगाउने गर्‍यौं भने भ्याक्सिन नआउन्जेलसम्म तपाईं-हामीले आफूलाई कोरोनाबाट बचाउन सक्छौं।