आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

ओली अनुपस्थित भए पनि भोलि नेकपा सचिवालय बैठक बस्ने

गोकर्णेश्वर खबर२ मंसिर २०७७, मंगलवार १६:२३ मा प्रकाशित (३ साल अघि) ४९४ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेसँगै दुबै पक्ष आआफ्नो तयारीमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएमा आफू बैठकमा सहभागी नहुने बताइसकेका छन् । उनले आफू निकट नेताहरुलाई पनि बैठकमा नजान निर्देशन दिइसकेका छन् ।

ओलीको सन्देश बोकेर आज बिहान खुमलटार पुगेका महासचिव विष्णु पौडेलले बैठक रोकेर सहमतिका लागि पहल गर्ने प्रयास गरेका थिए । तर, प्रचण्डले यो विषय पनि पार्टीको बैठकमा छलफल गरेर जान सकिने जवाफ दिएपछि ओलीले आफूनजिकका नेताहरुसँग थप परामर्स थालेका छन् । उनले महासचिव पौडेललाई एकतर्फीरुपमा बैठक स्थगित गर्न निर्देशन दिने र बैठकमा नजाने तयारी गरेका स्रोतको भनाइ छ ।

शुक्रबार बसेको सचिवालय बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो । बहमुत सदस्यले बैठक नसार्ने अडान लिएका छन् । उनीहरुले ओली उपस्थित नभए पनि पूर्वनिर्धारित बैठक सञ्चालन हुने बताएका छन् । एक सचिवालय सदस्यले नागरिकखबरसँग भने, ‘भोलिको बैठक ओली अनुपस्थित भए पनि बस्छ । पार्टीलाई अनिर्णयको बन्दी बनाउने कुरा राम्रो होइन ।’

प्रधानमन्त्री निवास बालुवाटारमै बैठक बस्ने तयारी बहुमत पक्षको छ । ती सचिवालय सदस्य भन्छन्, ‘सकभर सबैको सहभागितामा बैठक बस्छ । अहिलेसम्म बैठकको स्थान तय भएको छैन । त्यहाँ बस्न नदिने वा अन्य केही अवरोध आएमा मात्र पार्टी कार्यालयमा बैठक बस्छौँ ।’

शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले ५ जनाको तर्फबाट १९ पृष्ठलामो राजनीतिक प्रस्ताव पेश गरेपछि ओली अप्ठ्यारोमा छन् । उनले प्रस्ताव फिर्ता नभएमा बैठकमा नजाने र आफू निकटलाई पनि रोक्ने तयारी भएको बालुवाटार निकट स्रोतले जनाएको छ । ओली पक्षीय नेताहरुले पनि प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताइसकेका छन् ।