आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

कागेश्वरीमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

गोकर्णेश्वर खबर३० कार्तिक २०७७, आईतवार ०९:४८ मा प्रकाशित (३ साल अघि) १२४० पाठक संख्या

काठमाडौं ,कार्तिक ३० / काठमाडौं राजधानीको कागेश्वरी मनहरा नगरपालिका वडा नं १ मा रहेको  कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हाँस्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण कार्य पूरा भएको छ ।

देवकोटाको शालिक एक वर्ष अघि नै तयार गरिएपनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो । १ सय ११ औं लक्ष्मीजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले स्रष्टाहरुको शालिकमा माल्यार्पण गरेका थिए।

 

कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कृष्ण राई, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा,सोही नगरपालिकाका वडा अध्यक्षहरु, सामाजिक तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

 

आर्थिक वर्ष २०७५ र ७६ मा रु. ४० लाख विनियोजन गरेर शान्ति उद्यान र लक्ष्मीप्रसाद देवकोटा सालिक निर्माण गरिएको बागमती प्रदेशका पूर्वाधार विकास मन्त्रि  फुयालले जानकारी दिएका छन। आर्थिक वर्ष २०७६ र ७७ मा २९ लाख विनियोजन गरेर बाँकी दुई साहित्यकारहरूको सालिक निर्माण गरिएको हो ।

१०९ औं लक्ष्मी जयन्तीका अवसरमा फुयाल सहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती र १ सय १ साहित्यकारहरुले रु. १ का दरले चन्दादान गरेर तीन जना साहित्यकारहरूको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो । स्मारकको निर्माण यही वर्ष सम्पन्न भएता पनि कोरोना महामारीको कारणले औपचारिक उद्घाटन नगरिएको फुयालले जानकारी दिएका छन ।