आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

महाधिवेशन कार्यतालिका परिवर्तन गर्दै कांग्रेस

गोकर्णेश्वर खबर२७ कार्तिक २०७७, बिहीबार ०७:०८ मा प्रकाशित (३ साल अघि) ५८२ पाठक संख्या

काठमाडौं । आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ ।

केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्र देखिएका विवाद मत्थर हुँदै गएपछि कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै महाधिवेशनको मिति परिमार्जन गर्न लागेको हो ।

पछिल्ला केही महिनायता कांग्रेसभित्र सभापतिले गठन गरेका विभाग, भ्रातृ संस्थासहित शुभेच्छुक संस्थाहरूको थप गरिएका म्याद, क्रियाशील सदस्यता वितरण, समायोजनलगायतमा विवाद रहँदै आइरहेको थियो । तर, ती विषयमा असन्तुष्ट पक्ष मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूह ब्याक हुने मनस्थितिमा पुगेपछि कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जनको तयारीमा लागेको हो । तर, वरिष्ठ नेता पौडेलले भने सो विषयमा मुख खोलेका छैनन् । यस्तै, सभापति शेरबहादुर देउवा पनि आफैं नबोली महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालालाई खाका बनाउने जिम्मेवारी दिएका छन् ।

दुई महामन्त्रीले आफ्नो पक्षका केही नेताहरूलाई राखेर प्रस्ताव तयार पारेपछि २८ कात्तिकमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्नेछन् । महामन्त्री खड्काले नेताहरूबीच अझै पनि धेरै विषयमा छलफल भइरहेको र केही विषय टुंगिन बाँकी रहको बताए । ‘सल्लाह, छलफल भइरहेकै छ । धेरै विषयमा छलफल बाँकी छ । टुंगिसकेको छैन, छिटै टुंगिएला,’ महामन्त्री खड्काले राजधानीसँग भने ।

सभापति देउवा निकट एक नेताका अनुसार साउन अन्तिम साता वा भदौमा महाधिवेशन गर्ने गरी देउवाले छलफल गरिरहेका छन् । तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले भने वैशाख अन्तिम वा जेठभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउँदै आइरहेका छन् । ‘फागुनको मिति नकारात्मक ढंगबाट प्रभावित भइसक्यो, अब वैशाख अन्तिम वा जेठभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल परिमार्जन गर्नुपर्छ । तत्काल खाका नल्याइए महाधिवेशनमा सन्देश हुन्छ,’ सिटौलाले भने । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।