आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

तिहारसम्म मालपोत कार्यालयका सेवा बन्द

गोकर्णेश्वर खबर२४ कार्तिक २०७७, सोमबार ०६:५३ मा प्रकाशित (३ साल अघि) ४७६ पाठक संख्या

सिन्धुपाल्चोक । मालपोत कार्यालय, चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालयले आज सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो ।

कार्यालयका निमित्त कार्यालय प्रमुख गोवर्द्धन ढकालद्वारा जारी विज्ञप्तिमा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासनमा पनि आलोपालो सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले समेत आलोपालो सेवा दिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सुचनानुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन् ।

जारी सुचना अनुसार चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिकाका सेवाग्राहीले आइतबार मात्रै सेवा पाउनेछन् र सो बाहेक अन्य दिन ती स्थानीय तहका सेवाग्राहीलाई कार्यालयले सेवा दिइने छैन ।

नयाँ नीतिअनुसार सोमबार मेलम्ची नगरपालिका र बलेफी गाँउपालिका, मंगलबार बाह्रबिसे नगरपालिका र हेलम्बु गाँउपालिका, बुधबार त्रिपुरासुन्दरी गाँउपालिका र लिसंखुपाखर गाँउपालिका, बिहीबार भोटेकोसी गाँउपालिका र पाँचपोखरी गाँउपालिका र शुक्रबार सुनकोशी गाँउपालिका र इन्द्रावती गाँउपालिकाका स्थानीयले मात्रै सेवा पाउनेछन् ।