आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

विदेशबाट नेपालीलाई उद्दार गर्ने नाममा सरकार नै कमिसनमा चल्यो : गगन थापा

गोकर्णेश्वर खबर२४ कार्तिक २०७७, सोमबार ०६:२० मा प्रकाशित (३ साल अघि) ६९९ पाठक संख्या

लन्डन(जिएनएन) । नेपाल प्रेस युनियन , युरोप शाखाले आफ्नो भर्चुअल वैठक सम्पन्न गर्दै त्यहाँ अवस्थित विभिन्न संघसंस्था र निकायसंघ वहस शुरु गरेको छ । श्रृखलाबद्ध हुने वहसमा प्रमुख वक्ताका रुपमा नेपाल सरकारका पूर्व स्वास्थ मन्त्रीलाई निमन्त्रणा गरिएको थियो ।

नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारका प्रधानमन्त्री राणा शासनका प्रधानमन्त्री भन्दा पनि गैर जिम्मेवारी भएको आरोप लगाए ।
नेपाल प्रेस युनियन, यूरोपले आयोजना गरेको भर्चुअल बहसमा बोल्दै नेता थापाले कोरोना भाइरसको महामारीले सयौं नेपालीको मृत्यु भइरहँदा र संक्रमित भइरहँदा सरकार जिम्मेवारी निर्वाह नगरेकोप्रति आक्रोश ब्यक्त गरेका हुन ।

‘प्रधानमन्त्री ओली जनताप्रति होइन आफ्नै पार्टीको विवादमा मुछिदै कोरोना नियन्त्रणका बारेमा कुनैपनि छलफल वा बैठक नगरी गैरजिम्मेवारी बहन गरिरहेका छन्,’ नेता थापाले भने,‘विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्ने निहूँमा सरकारले टिकटमा कमिसन खान तल्लिन भएको छ, यस्तो निरंकुश सरकारबाट धेरै अपेक्षा गर्न सकिदैन ।’

एनआरएनएका अभियन्ता तथा कांग्रेस नेता विश्व आदर्श पण्डितले नेपालमा सबैखाले स्वतन्त्रता प्राप्त भइनसकेकाले फेरि प्रजातन्त्रप्रेमीहरुको एकता आवश्यक रहेको औंल्याए । कार्यक्रममा नेपाली जन सम्पर्क समिति विश्व सञ्जाल युरोपका संयोजक शेखर कँडेलले दोष , आरोप प्रत्यारोप भन्दा हामी भित्रका कमी कमजोरीलाई सुधार्दै संयुक्त रुपमा अघि बढनु नै अबको उत्तम विकल्प रहेको कुरामा जोड दिएका थिए ।

एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यले अमेरिकामा राष्ट्रपतिको निर्वाचनबाट भर्खरै प्राप्त परिणाम अनुसार प्रजातन्त्रको रक्षाका लागि नयाँ सन्देश दिएको बताउँदै डायस्पोराका नेपालीहरुलाई केही उत्साही बनाएको बताए । उनले हामी सँधै नेपाली समाजका लागि फुटेर होइन जुटेर लाग्नुपर्ने सुझाव दिए । एनआरएनएकी पूर्व सचिब जानकी गुरुङले डायस्पोराका नेपालीहरुको आवाज उठाउने जिम्मेवारी नेपाली पत्रकारहरुको पनि भएकाले सबै जागरुक हुन अनुरोध गरिन ।

एनआरएनएका अभियन्ता शेर सुनारले गोर्खाहरुको हक हित र गैर आवसीय नेपालीहरुका पक्षमा नेपाली कांग्रेसले गम्भीर भूमिका निर्वाह गर्नुपर्ने बताए ।
ग्लोबल नेप्लिज डटकमका अध्यक्ष तथा गैर आवासीय नेपाली संघका संस्थापर सचिव चिरिन्जीवि ढकालले नागरिक स्वतन्त्रलाई बचाउने जिम्मेवारी प्रेसको भूमिका अहम हुने भएकाले मिडियाका साथीहरु एक हुनुपर्ने धारणा राखे ।
बरिष्ठ पत्रकार भगिरथ योगीले स्वतन्त्रताको रक्षाका लागि नेपाली समूदायमा एकताको भावना विकास हुनुपर्ने बताए । कार्यक्रमलाई प्राविधिक र एकेडेमिक रुपमा सफल पार्न नेपाल पत्रकार महासंघ यूकेका महासचिव तथा ग्लोबल न्यूज डटकमका सम्पादक डा. जगन कार्कीले अहम भूमिका खेलेका थिए ।

बहसमा नेपाल प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, महासचिब अजयबाबु शिवाकोटी, नेपाल प्रेस युनियनका डिजिटल विभाग प्रमुख तथा केन्द्रिय सदस्य युवराज गौतम बेलायत अध्यक्ष विपिन निरौला, पोर्चुगल संयोजक बसुधा सत्यालले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । नेपाल प्रेस युनियन बेलायतका उपाध्यक्ष एभरेष्ट गौतमले नेपाल प्रेस युनियन बेलायत र युरोपको स्थापना इतिहासलाई स्मरण गराएका थिए भने अर्का उपाध्यक्ष खेमराज रानाभाटले पनि कार्यक्रममा सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ बेल्जियमका सभापति ओम शर्माले सहजीकरण गरेको कार्यक्रममा प्रेस युनियन युरोप सचिवालयको तर्फबाट प्रवल भट्टराईले उपस्थित सम्पूर्ण अतिथीलाई स्वागत गरे तथा कार्यक्रमका सभापति तथा नेपाल प्रेस युनियनका , संयोजक संजयभक्त कँडेलले उपस्थित सम्पूर्ण र कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा विशेष धन्यवाद ब्यक्त गरे ।

बहसमा नेपाली जनसम्पर्क समितिका विभिन्न देशका अध्यक्षहरु क्रमशः जर्मनीबाट शेखर खड्का , स्पेनबाट इन्द्र शर्मा , पोर्चुगलबाट बिनोद घिमिरे , साइप्रसबाट सीता अर्याल लगायत जनसम्पर्कका पूर्व सभापति , गैर आवासीय नेपाली संघका राष्ट्रीय समन्वय समितिका अध्यक्षहरू, सामाजसेवी, एनआरएनएका अभियन्ता र सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।