आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कालीगण्डकी करिडोरमा पहिरोमा पुरिएर ५ मजदुरको मृत्यु, २ घाइते

गोकर्णेश्वर खबर२० कार्तिक २०७७, बिहीबार ०८:५० मा प्रकाशित (३ साल अघि) ४५४ पाठक संख्या

कावासोती – नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला हिजो साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा हुन् । मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको मल्लले जानकारी दिए ।

पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए ।

पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेका थिए । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।