आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

अमेरिकी निर्वाचन : कहिले आउला अन्तिम नतिजा ?

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १७:५९ मा प्रकाशित (३ साल अघि) ३९० पाठक संख्या

अमेरिकामा राष्ट्रपतीय निर्वाचन सकिएको छ । निर्वाचनको अन्तिम नतिजा नआए पनि धेरै राज्यमा विजेताको टुङ्गो लागिसकेको छ भने केही राज्यमा भने अझै दुई उम्मेदवारबीच विजेताको टुङ्गो लागेको छैन ।

किन भइरहेको छ त नतिजा आउनमा ढिलाइ ?

निर्वाचन भएकै रात नतिजा नआउने सम्भावना सधैँ नै हुन्छ । त्यसमाथि यसपटक कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण लाखौं मानिसले पोस्ट (चिठी)को माध्यमबाट भोट दिएका छन् । जसको कारण सबै मतगणनामा ढिलाइ हुन सक्ने देखिएको छ ।

कहिलेसम्म आउला त निर्वाचनको नतिजा ?

सामान्यतया निर्वाचन सकिएको रात नै अमेरिकामा कसले जित्छ भन्ने कुरा तय हुने गरेको छ । यद्यपि समग्र मतगणना भने कहिले पनि निर्वाचन सकिएको दिन पूरा हुँदैन । यो समान्य हो तर विजेता हुनको लागि आवश्यक मतको भने छिनोफानो भइसक्छ । कुनै उम्मेदवारलाई अर्को उम्मेदवारले हराउन नसक्ने निश्चित भएपछि विजेताको घोषणा गरिन्छ । यो अन्तिम नतिजा भने होइन तर पनि यो घोषणा लगभग सही हुन्छ ।

अमेरिकामा पाएको मतको आधारमा राष्ट्रपति छानिँदैनन् । त्यसका लागि आवश्यक राज्यमा जित हात पार्नुपर्छ । प्रत्येक राज्यमा जित्दा उम्मेदवारले केही संख्यामा इलेक्टारेल भोट पाउँछन् । यो इलेक्टोरेल भोट जनसंख्याको आधारमा निर्धारण गरिएको हुन्छ । राष्ट्रपति बन्न २७० इलेक्टोरेल भोट आवश्यक हुन्छ । सन् २०१६ मा निर्वाचन सकिएको रात नै ट्रम्प विजयी भएको घोषणा भएको थियो ।

यस वर्ष किन फरक ?

कोभिड–१९ को महामारीको कारण धेरै मानिसहरुले यसपटकको निर्वाचनमा पोस्ट वा अन्य माध्यमबाट अगाडिदेखि नै मत दिन सुरु गरेका थिए । हस्ताक्षर र ठेगानाजस्ता विषयहरुको जाँचलगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पोस्टल भोट गणनाको लागि लामो समय लाग्छ । फ्लोरिडालगायतका केही राज्यले यो प्रक्रियाको लागि पहिला नै अनुमति दिएको कारण धेरै भोटहरु गणनाको लागि तयार अवस्थामा थिए । त्यसैले यी राज्यमा छिटै नै विजेताको घोषणा भयो ।

कुन कुन राज्यको नतिजा आउन बाँकी छ ?

अहिले एरिजोना, जर्जिया, मिसिगन, विस्कोन्सिन र पेन्सिल्भानियामा अझै मतगणना जारी छ । यी राज्यहरुको नतिजा राष्ट्रपति बन्न दुवै उम्मेदवारका लागि निकै महत्वपूर्ण छ । तर, अहिलेसम्मको अवस्था हेर्दा पूरै मत नगन्दासम्म यहाँको नतिजा आउने सम्भावना कम छ । पेन्सिल्भानिया र विस्कोन्सिनले निर्वाचनको दिनअघि नै गरिएको मतदानको गणना प्रक्रिया यसअघि सुरु गर्न दिएका थिएनन् । जसको कारण निर्वाचन अधिकारीहरुले यहाँको सबै मत गन्न केही दिन लाग्न सक्ने बताएका छन् ।

एरिजोना, जर्जिया र मिशिगनमा भने सन्तुलित हिसाबमा मतगणनाको काम भइरहेको छ । एरिजोनामा डेमोक्रेटिक पार्टीका जो बाइडन अगाडि छन् । यो राज्यमा उनले जित हात पारेमा विस्कोन्सिन, मिशिगन र पेन्सिल्भानियामध्ये दुई राज्यमा जित्न सके बाइडन अमेरिकाको राष्ट्रपति बन्न सक्छन् । तर अहिले बाइडन तीनमध्ये दुईमा ट्रम्पभन्दा पछाडि छन् ।

जर्जियामा पनि पछिल्लो केही वर्षयता रिपब्लिकन पार्टीले जित्दै आएको छ । टेक्सासको पनि नतिजा आएको छैन तर यो राज्यमा ट्रम्प सुरक्षित देखिएका छन् ।

अन्य कारण

अमेरिकाका आधा राज्यले निर्वाचनको भोलिपल्ट पनि पोस्टलबाट आएको मत स्वीकार गर्छन् । त्यसैले निर्वाचन सकिएको केही दिनसम्म पनि मत गन्न बाँकी नै हुनेछ ।

स्रोत : बीबीसी