आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

पशुपति आर्यघाटमा महराले यसरी गरे पत्नीलाई अन्तिम विदाइ…

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १७:३३ मा प्रकाशित (३ साल अघि) ५१२ पाठक संख्या

पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन्। कोरोना पोजेटिभ देखिएकी निमोनियालगायतबाट पीडित सीताको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो। सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो।

दाङमा उपचार सम्भव नभएपछि गत कात्तिक १४ गते हेलिकप्टरमा राखेर सीतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। उपचारकै क्रममा रहँदा उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो।

बुधबार पशुपति आर्यघाटमा महराले पत्नीलाई अन्तिम विदाइ गरेका हुन्। महरा परिवार आज नै दाङ जाँदैछन्।दाङमा छोरा एटमको घरमा काजकिरिया गर्ने तयारी उनीहरूको छ। यता प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन ।

आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। सीता महराको पार्थिव शरीरमाथि पूर्वसभामुख महरा, छोराहरू निर्मल, राहुल, आफन्तजन एवं अन्यले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सीताको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

सीताको बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनी विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

सीता महराको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो । कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।