आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

डा. सुवेदी भन्छन्, ‘होम आइसोलेसनमा मृत्यु हुने संक्रमित बढ्नुमा सरकार जिम्मेवार’

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १६:१५ मा प्रकाशित (३ साल अघि) २८१ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमण भएकाहरुलाई उपचार गर्ने सरकारले लिएको पछिल्लो नीतिका कारण बिरामीहरुले अनावश्यक दुःख पाएका छन् । सरकारले संक्रमितको उपचारमा एउटा भन्ने र अर्को गर्ने कारण अहिले संक्रमितहरु घरमा नै मर्न बाध्य भएका छन् ।

अहिले बिरामी अस्पताल गएपछि उपचार पाउनेकी नपाउने भन्ने ठूलो समस्या हुने गर्दछ । सरकार यस्तो महामारीको समयमा अभिभावक हुनु पर्ने समयमा अहिले सरकार गैरजिम्मेवार भएको सरकारी चिकित्सक संघ (गोदान)का महासचिव डा. कृतिपाल सुवेदीले बताए ।

पहिले पनि अस्पतालहरुले उपचारमा पैसा लिने गरेपनि पछिल्लो समय अस्पतालहरुले होटलले मेन्यू सार्वजनिक गरेजस्तो खर्च विवरण सार्वजनिक गर्दा बिरामीमा त्रास बढेको महासचिव डा. सुवेदीले बताए ।

उनले पहिले पनि सरकारले उपचार खर्च उठाउन लिष्ट सार्वजनिक गर्दै पैसा उठाउनु गलत भएको उनले बताए । धेरै अस्पतालहरुले कोरोना संक्रमण भएकाहरुलाई उपचारमा लाग्ने खर्चको विवरण सार्वजनिक गरेका छन् ।

मन्त्रालयको बाध्यकारी आदेशको कारण आफूहरुले विवरण सार्वजनिक गर्न बाध्य भएको उनीहरुले बताएका छन् । गम्भीर अवस्थामा बिरामी अस्पताल पुग्दासमेत अहिले बिरामीले बेड नपाउने अवस्था रहेको छ ।

लामो लकडाउन गरेर सबै नागरिक भोको नाङ्गो भएको अवस्थामा सरकारले लिएको यो नीतिले जनताले दुःख मात्र पाएको डा. सुवेदीले बताए । सरकारले पैसा पहिलेदेखि लिएको भएपनि त्यसलाई ठीक रुपमा व्यवस्थापन गर्न नसकेको उनले बताए ।

पैसा तिर्न सक्ने बिरामीले पनि अहिले पैसा कहाँ र कसरी तिर्ने भन्ने राम्रो व्यवस्था नभएको उनले बताए । पैसा तिर्न सक्ने मानिसले प्राइभेट अस्पतालमा गएपनि पैसा तिर्न नसक्ने मानिस घरैमा मर्न बाध्य भएका छन् । यो विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अस्पताल प्रशासनसमेत प्रष्ट नभएको उनले बताए ।

निःशुल्क उपचार पाउने बिरामीले पनि कसरी उपचार पाउने वा उपचार लिनको लागि कहाँ गएर केके गर्ने भन्ने सजिलो व्यवस्थापन नहुँदा अहिले बिरामीले अस्पताल गएर उपचार गर्नुभन्दा घरमा बसेर मर्न सजिलो मानेका डा. सुवेदीले बताए ।