आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोनाबाट मृत्यु भएका संक्रमितको शव साढे ४ महिनापछि उत्खनन गरेर अत्येष्टि

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार १७:०० मा प्रकाशित (३ साल अघि) ९३२ पाठक संख्या

अर्घाखाँची – कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको साढे चार महिनापछि शव उत्खनन् गरी अन्त्येष्टि गरिएको छ ।

मालारानी गाउँपालिका–४ का ३० वर्षीय बाबुराम खनालले आफ्ना ५८ वर्षीय बुबा यमलाल खनालको शव उत्खनन् गरी अन्त्येष्टि गरेका हुन् । बाबुरामका बुबा यमलालको २८ जेठमा मृत्यु भएको थियो ।

मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा जेठ ३० गते आउँदा यमलालमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टिमै बस्दा पनि कोरोना परीक्षणका लागि बुबाको स्वाब लिने काम भएपनि स्वाब हराएको बाबुरामले बताए ।

कोरोना संक्रमण फैलने डरले शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि रातुकास्थित खुल्ला चौरमा बुबाको शव कुरेर तीन दिनसम्म बस्न बाध्य भएको बाबुरामले गुनासो गरे । ‘हिन्दु परम्परा अनुसार बुबाको अन्त्येष्टि गर्नका लागि धेरै अनुरोध गर्‍यौं, तर मिल्दैन भन्नुभयो’ उनले भने, ‘सेनाले रातुका क्षेत्रको वनमा लगेर शव व्यवस्थापन गर्न खोज्दा अवरोध भयो । त्यसपछि जेठ ३१ गते घर नजिकै रहेको वन क्षेत्रको ठूलढुँगामा लगेर शव गाड्ने काम भयो ।’

भारतको मुम्बईबाट जेठको दोस्रो सातामा घर फर्किएका यमलाल बाडाचौरस्थित एक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

क्वारेन्टिमा बसेकै समयमा स्वास्थ्यमा समस्या आएपछि जेठ २७ गते उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रदेशिक अस्पताल ल्याइएको थियो । बाबुरामले भने, ‘पाँच वर्षअघि बुबाको घाँटीको अपरेसन भएको थियो । उहाँ दमको रोगी पनि हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अर्घाखाँची जिल्ला अस्पताल लग्यौँ । तर अस्पतालले बुटवल रेफर गरिदियो । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार पश्चात घर लैजाने क्रममा जेठ २८ गते उहाँको बाटोमै मृत्यु हुन पुग्यो ।’

त्यतिबेला आफ्नो धार्मिक परम्पराअनुसार परिवारले चाहेको स्थानमा बुबाको अन्त्येष्टि गर्न नपाएको भन्दै उनले बुबाको आत्माले शान्ति पाओस् भनेर अहिले आएर हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरेको बताए ।

उनले अघि थपे, ‘सपनामा बुबा भौँतारिँदै हिँड्नु भएको मात्रै देखिरहने थालेँ । हिन्दु परम्परा अनुसार अन्त्येष्टि नगरेकै कारण सपनामा यस्तो देख्नु परेको होला भन्ने मनमा लागिरह्यो । भदौमै शव उत्खनन् गरे अन्त्येष्टि गर्ने सोच बनाएको थिएँ । तर शव गाडेको स्थलमा बाढी र पहिरोका कारण त्यो सम्भव हुन सकेन । त्यसैले कात्तिक १५ गते गुल्मीको रिडीस्थित रुरु क्षेत्रमा लगेर अन्त्येष्टि गरेका हौं ।’

अन्त्येष्टिपछि प्रशासनको चासो

बुबाको शव उत्खनन् गरी अन्त्येष्टि गरिएको बारे स्थानीय प्रशासनले फोनमार्फत चासो राखेको बाबुरामले बताए । बाबुरामले भने, ‘स्थानीय प्रशासनबाट फोन आएको थियो । शव उत्खनन् गरी अन्त्येष्टि गर्दा वडासँग समन्वय भयो कि भएन भनेर मात्रै सोध्नु भएको थियो । अरु केही सोध्नु भएन ।’

वडा अध्यक्ष बाबुराम आचार्यका अनुसार शव उत्खनन् गरी अन्त्येष्टि गर्ने काम भएको जानकारी आफूले पाएको बताए । आचार्यले भने, ‘शव उत्खनन् गरी अन्त्येष्टि गर्ने बारेमा हामीसँग समन्वय भएको छैन । तर पनि हामीले त्यतिबेला नै शव उत्खनन् गरेर धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्न सक्नु हुन्छ भनेका थियौं । तर उहाँहरुले अहिले आएर अन्त्येष्टि गर्नु भएको रहेछ ।’