आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

विश्वभर तीन करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार १६:३३ मा प्रकाशित (३ साल अघि) ४८१ पाठक संख्या

पेरिस । कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरि तीन करोड ४० लाखभन्दा बढी पुगेको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरि तीन करोड ४० लाख ६० हजार २ सय ४१ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भइसकेका हुन् ।

यस्तै, कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२ हजार १ सय १६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

विश्वभरि अहिलेसम्म कोरोना भाइरसबाट कूल चार करोड ७३ लाख ६३ हजार ९ सय ८५ जना संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये एक करोड २० लाख ९१ हजार ६ सय २८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

अहिले पनि संक्रमित अवस्थामै रहेकामध्ये झण्डै ९९ प्रतिशत अर्थात् एक करोड २० लाख चार हजार ९ सय ५७ जना मध्यम अवस्थामा रहेका छन् भने झण्डै एक प्रतिशत अर्थात ८६ हजार ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित र मृतकहरुको सङ्ख्याका आधारमा हेर्दा अमेरिका सबैभन्दा बढी प्रभावित देखिएको छ । अमेरिकामा अहिलेसम्म कूल ९५ लाख ६७ हजार ५ सय ४३ जना संक्रमित हुँदा कूल दुइ लाख ३६ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार ६ सय २३ जना संक्रमित भएका छन् भने एक लाख २३ हजार २ सय ३९ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा अहिलेसम्म एक लाख ६० हजार २ सय ७२ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार २ सय ६ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट रुसमा अहिलेसम्म १६ लाख ७३ हजार ६ सय ८६ जना संक्रमित भएका छन् भने २८ हजार ८ सय २८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट प्रभावित भएका मुलुकहरु मध्ये रुस चौथो अग्रपंक्तिमा पर्दछ ।

पाँचौं अग्रपंक्तिमा रहेको फ्रान्समा अहिलेसम्म कोरोना भाइरसका कारण ३७ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट अहिलेसम्म १४ लाख ६६ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

त्यसैगरी स्पेन, अर्जेन्टिना, कोलम्बिया, बेलायत र मेक्सीको कोरोना भाइरसबाट प्रभावित अग्र १० देशमा रहेका छन् ।