आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

५८ औं राष्ट्रपति चयनका लागि अमेरिकामा आज चुनाव हुँदै, ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार ०८:११ मा प्रकाशित (३ साल अघि) ४८३ पाठक संख्या

एजेन्सी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । चुनावपछि अमेरिकाले पाँचबर्षे कार्यकालका लागि ५८ औं राष्ट्रपति छान्नेछ ।

५८ औं राष्ट्रपति छान्नका लागि अमेरिकामा हुने चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।

हुलाक र मतदान केन्द्रमै गएर अहिलेसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो ।

अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड रहेको छ । अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता संख्याको ६२ प्रतिशत हो । मंगलबार राष्ट्रपतिसँगै सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका संसद, गभर्नरसहितका लागि मतदान हुँदैछ ।

यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४ सय ३५ सिटको पनि निर्वाचन हुँदैछ । अमेरिकी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदैनन । अमेरिकाका प्रत्येक राज्यबाट दुई दुई जना गरी एक सय सिनेटर, तल्लो सदनका ४ सय ३५ र डिस्ट्रिक अफ कोलम्बियाका तीनसमेत गरी ५ सय ३८ जनाको कलेज डेलिगेट्स अर्थात् इलेक्टोल कलेज रहन्छ ।

अमेरिकाको क्यालिफोर्नियामा सर्वाधिक ५५ इलेक्टोरल मत छ भने टेक्ससमा ३८, न्युयोर्क र फ्लोरिडामा समान २९ छ । तर निर्णायक राज्यका रूपमा मिचिगन र पेन्सिलभेनियामा क्रमशः १६ र २० रहेको छ । अधिकांश राज्यमा तीनदेखि नौ इलेक्ट्रोल मत छ । संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुन्छ । ५ सय ३८ इलोक्ट्रोन मतमध्ये २ सय ७० मत ल्याउने उमेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् ।

यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुने अनुमान छ । सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत बिन्दुले अग्रता बनाएको देखाएको छ । सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखिएको छ ।

मंगलबार निर्वाचन भए पनि निर्वाचनको परिणाम आउन भने केही सातासम्म लाग्न सक्ने बताउँदै आइएको छ । करिब १६ वटा राज्यको लगभग सबै परिणाम निर्वाचनको दिन नै आउने अपेक्षा छ । २४ वटा राज्यको आधाभन्दा बढी परिणाम प्राप्त हुनेछ । अन्य ११ वटा राज्यको मत गणना सुरु मात्र गरिनेछ ।