आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेकपा फूटको संघारमा : पूर्वएमालेलाई मिलाउन ओलीपक्ष नेताहरु नेपाल निवास गोठाटार

गोकर्णेश्वर खबर१७ कार्तिक २०७७, सोमबार ०८:३२ मा प्रकाशित (३ साल अघि) ३९१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्यहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको समस्या हल गर्नका लागि पूर्वएमालेहरुलाई मिलाउन पुराना नेता प्रदीप नेपालसँग गुहार मागेका छन् ।

शनिबार गोठाटारस्थित नेता नेपालको निवासमा पुगेर उनीहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओली र बरिष्ठ नेता माधवकुमार नेपाल आपसमा नमिल्दा नेकपाभित्र देखिएको विवाद समाधान हुन नसकेको बताएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहित प्रधानमन्त्रीका तीन सल्लाहकारहरु बिष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा प्रदीप नेपाललाई भेट्न पुगेका थिए । साथमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि थिए ।

उनीहरुको साझा अनुनय थियो, ‘तपाईले नै दुई नेता (प्रधानमन्त्री ओली र माधव नेपाल) लाई मिलाउन सक्नु हुन्छ, त्यसका लागि सक्रिय भइदिनुप¥योे ।’ तत्कालीन एमालेका नेताहरु नै नमिल्दा पार्टीभित्र संकट देखिएकाले नेता नेपाललाई सक्रिय हुन आग्रह गरिएको स्रोतले जनायो ।

नेता नेपालले सकेजति पहल गर्ने आश्वासन दिएका थिए । ‘नेताहरु मिलाउन सजिलो छैन, धेरै दौडिनुपर्ने भएकाले मलाई सजिलो हुन्न’, नेपालको भनाइ थियो ।

तर, भेटवार्ताका लागि सहज वातावरण बनाउन आफूहरुले सहयोग गर्ने नेता नेपाललाई उनीहरुले बचन दिएका छन् ।नेता नेपालले ओली–नेपाल मिलाइदिन आग्रह गरेको पुष्टि गरे । उनले भने, ‘तपाइँले मिलाउन सक्नुहुन्छ, लौन, लाग्नुप¥यो भनेका थिए । मैले सकेको गर्छु भनें ।’

तत्कालीन एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले समेत नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरिहँदा प्रधानमन्त्री ओली भने अल्पमतमा पर्दै आएका छन् ।

प्रधानमन्त्रीका तर्फबाट भेटवार्तामा सक्रिय रहेका पोखरेलसहितका नेताहरुले यसअघि पनि नेपाललाई ओलीसँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्दै आएका छन् ।

गएको कात्तिक ४ र कात्तिक १२ मा प्रधानमन्त्री ओलीले नै बरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर लामै कुराकानी गरेका थिए । तर, प्रचण्डसँग नमिल्न र आफूलाई सघाउन ओलीले राखेको प्रस्ताव माधव नेपालले अस्वीकार गर्दै आएका छन् ।