आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

सरकारको गलत निर्णयको प्रभाव : समुदायमा स्वाब संकलन नै रोकियो

गोकर्णेश्वर खबर१७ कार्तिक २०७७, सोमबार ०५:४९ मा प्रकाशित (३ साल अघि) ५४२ पाठक संख्या

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पछिल्लो २४ घण्टामा २५३ नमुना मात्र परीक्षण भएको छ । आज मात्र होइन, पछिल्ला केही दिनयता टेकुमा परीक्षण स्वाट्टै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कात्तिक ११ गतेयता क्रमशः २५३, १८४, १३१, ६ र १४ नमुना परीक्षण भएको छ ।

कुनै समय टेकुको प्रयोगशालामा पाँच/सात दिनसम्म स्वाब थुप्रिन्थ्यो । प्रदेश ३ का स्थानीय पालिकाहरुले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेको संकलन गरेका स्वाब मात्र परीक्षण गर्दा पनि दुई हजार आसपास नमुना परीक्षण भइरहेको थियो ।

१० कात्तिक अगाडिका ५ दिनमा दैनिक क्रमशः २१८१, १०८६, १८६४, १८१६ र १७४६ नमुना परीक्षण भएको थियो । पछिल्ला दिनहरुमा किन एकाएक परीक्षण घट्यो त ?

‘हामी कहाँ पहिलाको तुलनामा निःशुल्क कम आउन थालेको छ’ जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झा भन्छिन्, ‘हामीलाई बाग्मती प्रदेशका स्थानीय तहहरुबाट कन्ट्रयाक्ट ट्रेसिङबाट संकलन गरेको स्वाब आउथ्यो, अहिले आउन छाडेको छ ।’

कोरोना परीक्षणसम्बन्धी प्रोटोकल परिवर्तन भएकाले यसो भएको हुनसक्ने उनको अनुमान छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ असोजमा ‘विपन्न, अशक्त र असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, ७० वर्ष नाघेका जेष्ठ नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण देखिए मात्र निःशुल्क परीक्षण गर्ने भनेको थियो ।

त्यसैपनि सुरुदेखि नै कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन सकेको छैन । यसले कोरोना संक्रमणलाई समुदायमा फैलाउन भूमिका खेलेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

अब सरकारले निःशुल्क टेष्ट गर्न छाडेपछि कन्ट्याक्ट ट्रेसिङ नराम्रोसँग प्रभावित भएको छ ।

कन्ट्याक्ट ट्रेसिङ ईपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (ईडिसिडी) गर्नुपर्ने हो, तर उसले पछिल्लो समय यो जिम्मेवारी स्थानीय तहहरुलाई छाडेको छ ।

र, सरकारको पछिल्लो निर्णयले कट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन रोकिएको छ । काठमाडौं महानगरपालिकाको कोभिड फोकल पर्सन ज्ञानु वलीले त्यसलाई पुष्टि गरे । उनले भने, ‘सरकारले शुल्क लिएर कोभिड परीक्षण गर्ने भनेपछि हामीले कन्ट्याक्ट ट्रेसिङ गरेपनि स्वाब कलेक्सनको काम रोकेका छौं ।’

महानगरले मात्र दैनिक केही समयको संख्यामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउथ्यो ।

शनिबार अबेरको तथ्यांकअनुसार काठमाडौं महानगरमा मात्र २३ हजार ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४ हजार ६२२ जनामा संक्रमण भएको कन्ट्याक ट्रेसिङका क्रममा स्वाब संकलन गरेर परीक्षण गर्दा पत्ता लगेको थियो ।

तर अब त्यो रोकिएको छ । महानगरका कोभिड फोकल पर्सन वली भन्छन्, ‘सरकारको प्रोटोकलमा परेकाहरुलाई निःशुल्क परीक्षण गर्न टेकु अस्पताल जान भन्ने गरेका छौं ।’

ललितपुरको अवस्था पनि त्यो भन्दा फरक छैन । जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलाल भन्छन्, पहिला जुन गतिमा परीक्षण भइरहेको थियो, पछिल्लो ७/१० दिनमा त्यसअनुसार भएको छैन ।’

उनका अनुसार संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान गर्ने, ७ दिन होम आइसोलेसनमा बस्न र लक्षण देखिए परीक्षण गर्न आग्रह गर्ने काम भइरहेको छ । ‘लक्षण देखियो भने पाटन अस्पताल जानुस्, लक्षित बर्गको निःशुल्क हुन्छ, अरुको शुल्क लाग्छ भनेका छौं’ उनले भने, ‘तर पाटनको गेटमा गएर गरिब कसरी प्रमाणित गर्ने भन्ने झञ्झट हुने र आफैंले पैसा तिनुपर्ने भएपछि नजाने रहेछन् ।’

यस्तो समस्या अस्थायी बसोबास गर्नेहरुको संख्या बढी भएको काठमाडौं उपत्यकाका स्थानीय तहमा बढी छ । अस्थायी बसोबास गर्नेहरुको संख्या कम भएका पालिकाहरुले कोरोना परीक्षण खर्च व्यहोर्ने भनेकाले स्वाब संकलन कम प्रभावित भएको छ ।

डा. गेलाल भन्छन्, ‘इमान्दारिताका साथ भन्नुपर्दा जुन रुपमा परीक्षण हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।’

स्वाब संकलन नै रोकिएपछि संक्रमितको संख्या पनि घटेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइतबार उपत्यकाका १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंका १३६२ जना, ललितपुरका १६४ र भक्तपुरका १६४ जना छन् ।

तर यसले समुदायमा संक्रमण थप फैलाउन भूमिका खेल्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।