आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

चिसो मौसममा कोरोना महामारीले कस्तो प्रभाव पार्ला ?

गोकर्णेश्वर खबर१५ कार्तिक २०७७, शनिबार ०७:०३ मा प्रकाशित (३ साल अघि) २७१ पाठक संख्या

काठमाडौं । हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ ।

बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन् । त्यसो त, यो मौसमी उपक्रमले भाइरस संक्रमणको जोखिम बढ्छ नै भनेर ठोकुवा गर्न नमिल्ने तर्क पनि अन्यको छ । अमेरिकाका सरुवारोग विशेषज्ञ तथा ‘नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेज’का निर्देशक डा एन्थोनी फाउसीले ‘हिउँदयाम श्वासप्रश्वास संम्बन्धी रोगको बिस्तारका लागि उपयुक्त मौसम’ भएको बताउँदै आएका छन् ।

गत साता विश्व प्रशिद्ध जर्नल नेचरको अनलाइन संस्करणमा ‘किन हिउँदमा कोभिड–१९को महामारी डरलाग्दो हुदैछ’ भन्ने शिर्षकमा प्रकाशित लेखमा कोरोना भाइरस र इन्फ्लुयन्जा जस्ता श्वासप्रश्वास संम्बन्धी रोगका कारक भाइरसका संक्रमण हिउँदमा बढ्ने र गर्मीयाममा घट्ने भन्नेबारे उल्लेख गरिएको छ । अमेरिकाका सरुवारोग विशेषज्ञ तथा ‘नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेज’का निर्देशक डा एन्थोनी फाउसीले ‘हिउँदयाम श्वासप्रश्वास संम्बन्धी रोगको बिस्तारका लागि उपयुक्त मौसम’ भएको बताउँदै आएका छन् ।

कोभिड–१९ मौसमी भाइरस होला या नहोला भन्नेमा अनुसन्धानकर्ताले तत्काल यकिन गर्न नसकिने बताए पनि बिभिन्न प्रमाणहरुले मौसमका कारण हिउँदमा महामारीको जोखिम बढ्ने चेतावनी दिएका छन् । नेचरको सो आलेखमा भाइरसका बारेमा हालसम्म उपलव्ध जानकारी र हिउँदयाममा मानिसहरुले देखाउने आनीबानीका कारण सो जोखिम बढ्नसक्ने देखिएको हो । जाडोयाममा यथेष्ट भेन्टिलेसन नभएका घरभित्रै मानिसको जमघट र अन्तर्क्रिया हुँदा संक्रमणको जोखिम बढने तर्क सो आलेखमा गरिएको छ ।

अधिकांस राष्ट्रले लकडाउन शुरु नगर्दै महामारीका शुरुका चार महिनामा गरिएको तथा गत अक्टुबर १३ मा प्रकाशित एक अनुसन्धानले सूर्यको अल्ट्राभाइलेट प्रकाश कम भएका स्थानमा संक्रमण तीव्र रुपमा बढेको र गर्मीमा अन्य कुनै उपाय नअपनाउँदा पनि यो तीव्रतामा ह्रास आउने देखाएको थियो । ‘जाडोमा जोखिम बढ्छ तर यसलाई रोक्न व्यक्तिगत आनीबानीमा परिवर्तन आवश्यक छ,’ नेचरको सो आलेखका सहलेखक समेत रहेका कनेक्टिकट विश्वविद्यालयका इकोलोजिष्ट कोरी मेरोले भनेका छन् ।

यसैगरी गत जूनमा जर्नल अफ मेडिकल भाइरोलीमा प्रकाशित एक लेखमा महामारीको बेला कोभिड–१९ र इन्फ्लुयन्जाको सह संक्रमण सामान्य घटना जस्तो बनेको उल्लेख गरिएको छ । कोभिड–१९ र इन्फ्लुयन्जा–बी रोगको सह–संक्रमणका कारण रोग निको हुने सम्भावना कम पाइएको थियो । महामारी शुरु भएको वुहानको टोङजी अस्पतालमा गरिएको एक अर्को अध्ययनले कोभिड–१९ का अधिकांस बिरामी इन्फ्लुयन्जाबाट पनि संक्रमित रहेको पाइएको थियो ।

त्रिभुवन विश्वविद्यालयका शुक्ष्मजिवविज्ञान बिषयका प्राध्यापक प्रकाश घिमिरे जाडो याम भाइरसको भाइरस वृद्धि र विस्तारका लागि अनुकुल भएको तर्क गर्छन्।

ईन्फ्लुयन्जाको मृत्युदर सरदरमा ५ प्रतिशत र कोरोना भाइरसको मृत्युदर १ देखि ३ प्रतिशत रहेको बर्तमान अवस्थामा यी दुवै रोगको दोहोरो मार पर्दा जोखिम झन् बढ्न जाने उनी बताउँछन्।

नेपालको सन्दर्भमा पनि हिउँद याम र कोरोना भाइरसको अन्त्रसम्वन्ध बारेमा यकिन अनुमान नभएपनि सरुवारोग विशेषज्ञहरु सो संभावना रहेको बताउँछन् । ‘कोभिड–१९ शुरुमा गत डिसेम्वरमा छिमेकी मुलुक चीनमा देखिएकाले स्वभाविक रुपमा यो भाइरसका लागि हिउँद याम अनुकुल छ र यो मौसममा भाइरसको संक्रमण बढ्न सक्छ, ’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोगका चिकित्सक तथा सरुवारोग विज्ञ डा शेर बहादुर पुन भन्छन्। (नागरिक दैनिक)