आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

क्लिन फिड दुई हप्ताभित्र पूर्ण कार्यान्वयन

गोकर्णेश्वर खबर१५ कार्तिक २०७७, शनिबार ०६:५९ मा प्रकाशित (३ साल अघि) ३९३ पाठक संख्या

काठमाडौं । बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ ।

क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ ।

ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका थिए ।
सरकारले क्लिन फिड कार्यान्वयन गर्न पर्याप्त समय दिए पनि उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइका कारण कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष धु्रव शर्माले जानकारी दिए । ‘अहिले केही मुख्य च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा रहेकाले १५ दिनभित्र यसको पूर्ण कार्यान्वयन हुने अवस्था देखिन्छ’’, उनले भने ।

क्लिन फिडका कारण खासगरी निःशुल्क प्रसारण गर्न सकिने (फ्रि टु एयर) केही भारतीय समाचार तथा मनोरञ्जनात्मक च्यानल पूर्ण बन्द छन् । नेपालमा डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्न पाइने केही सशुल्क च्यानल भने उपकरण जडानको क्रममा रहेकाले कानुन अनुसार अहिले प्रसारण नभएको अवस्थामा छन् ।

डिस्कभरी, स्टार र बीबीसी लगायत केही च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा रहेकाले अर्को दुई हप्ताभित्र मात्र पूर्ण कार्यान्वयनमा आउन सक्ने डिसहोमका प्रबन्धनिर्देशक सुदीप आचार्यले बताए ।

अहिले सोनी गु्रप, जी नेटवर्क, इन्डिया कास्ट अन्तर्गतका प्रमुख टेलिभिजन च्यानलमा क्लिन फिड कार्यान्वयनमा आइसकेको छ । (गोरखापत्र)