आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय

गोकर्णेश्वर खबर१४ कार्तिक २०७७, शुक्रबार १०:३१ मा प्रकाशित (३ साल अघि) ३५९ पाठक संख्या

काठमाडौं – दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।

यो फैसलाले पूर्व राष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभएमा उनले जेलमा नै मृत्युलाई पर्खनुको विकल्प हुने सम्भावना कम छ ।

उनलाई जेलमा फिर्ता लान प्रहरी उनको सियोलस्थित घरमा पुगेको थियो । योन्हाप समाचार एजेन्सीका अनुसार उनले स्वास्थ्यको कारण बताउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेका थिए । उनको उक्त अनुरोधलाई स्वीकार्दै प्रहरीले सोमबार हिरासतमा लिने जनाएको छ ।

अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरुप दक्षिण कोरियाका चारै जना पूर्वराष्ट्रपतिहरू या त जेलमा छन् वा जेल सजाय पाएका छन् ।

लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले उनलाई १७ वर्षका लागि सजाय तोकिएको थियो । उनले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नयाँ निर्णय नहुँदासम्मका लागि जमानतमा रिहा गरिएको थियो ।

अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकेको हो । लीलाई यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि सम्लग्न रहेको आरोप लागेको छ ।

लीका उत्तराधिकारी पार्क ग्युन हेलाई पनि शक्तिको दुरुपयोग गरेको र घुस स्वीकार गरेको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष जेल सजाय तोकिएको छ । उनले अहिले जेल सजाय भोगिरहेका छन् ।

पूर्वराष्ट्रपति तथा उदारवादी नेता रो मु–ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेको थियो । उनले आत्महत्या गरेका थिए । रो वर्तमान राष्ट्रपति मून जाय–इनको राजनीतिक सल्लाहकारका रूपमा काम गरेका थिए ।