आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्मलाई स्थगित

गोकर्णेश्वर खबर१२ कार्तिक २०७७, बुधबार १५:३० मा प्रकाशित (३ साल अघि) २३२ पाठक संख्या

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मका लागि सरेको छ ।

नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालल र इश्वरी रिजालले बुधवार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रीय कमिटी बैठक सरेको जानकारी दिएका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २०७७ कात्तिक १५ देखि १७ गतेसम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मंसिर १५ देखि १७ गते आयोजना गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

गत भदौ महिनामा सम्पन्न स्थायी कमिटी बैठकले पारित गरेका एजेण्डामाथि छलफल तथा चैत्र महिनामा गर्ने भनिएको महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको थियो ।

पार्टीभित्रको विवाद बढ्दै गएको समयमा नेकपाका एकचौथाई केन्द्रीय सदस्यले हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठक माग गरेका थिए ।