आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

दसैँसँगै कोरोनाको जोखिम उच्च : दैनिक १० हजारसम्म संक्रमित हुनसक्ने विशेषज्ञको अनुमान !

गोकर्णेश्वर खबर११ कार्तिक २०७७, मंगलवार ०९:४९ मा प्रकाशित (३ साल अघि) २२१ पाठक संख्या

काठमाडौं । दसैँ सकिएसँगै कोरोना भाइरसको संक्रमण भयावह हुनसक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । भोलिसम्म देशका धेरै ल्याबहरु नै बन्द रहेका, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएको र संक्रमणमा भएका व्यक्ति ओहोर दोहोर धेरै गरेकाले अबको १५ दिन कोरोना संक्रमणको अवस्था भयावह हुनसक्ने विशेषज्ञहरुले चेतावनी दिएका हुन् ।

पछिल्लो १ महिनामा संक्रमण ह्वात्तै बढेकामा हिजो जम्मा १ हजार ७ सय ४१ संक्रमित फेला परेका थिए । यो परीक्षण नभएकाले हो । पछिल्लो महिलामा कात्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना संक्रमित फेला परेका थिए । पिसिआर परीक्षण अहिले रोकिएकाले संक्रमण कम भएको छ ।

अब लक्षणसहितका संक्रमितको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । महामारी रोग विशेषज्ञ डा.अनुप सुवेदीले अबका दुई तीनदिन कोरोना संक्रमण कम देखिए पनि त्यसपछि अवस्था भयावह हुनसक्ने बताउँछन् । उनले दैनिक १० हजारसम्म संक्रमित देखिनसक्ने अनुमान गरिएको बताए ।

नेपालमा जाडो मौसम सुरु हुन थालेको र मानिसको सर्वाधिक आवतजावत भएकाले अबका केहीदिन संक्रमणको जोखिम पनि उच्च हुने सुवेदीको अनुमान छ । त्यसैले अबका केहीदिन पिसिआर परीक्षण व्यापक गर्नुपर्ने र नागरिकले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा उनले सुझाव दिएका छन् ।