आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना संक्रमणको ‘रेड जोन’मा १५ जिल्ला, बागमती प्रदेशका धेरै

गोकर्णेश्वर खबर१० कार्तिक २०७७, सोमबार १६:३५ मा प्रकाशित (३ साल अघि) ५८८ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमण तथा मृत्युदर बढ्दा संक्रमणको रेड जोन पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार देशभर अहिले १५ वटा जिल्लाहरु संक्रमणको रेड जोनमा रहेका छन् ।

सरकारले ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमित भएका जिल्लालाई रेड जोनको रुपमा लिने गरेको छ । पछिल्लो समय ५ सयभन्दा धेरै सक्रिय संक्रमित रहेको जिल्लाको संख्या बढ्न थालेको छ ।

काठमाडौं उपत्यका लामो समयदेखि कोरोना संक्रमणको केन्द्रको रुपमा रहिरहेको छ । दसैं मनाउन काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा मानिसहरु गएको कारण अब धेरै जिल्लामा संक्रमण बढ्ने खतरा रहेको पनि जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

रेड जोनमा रहेका जिल्लाहरुमा सबैभन्दा बढी बागमती प्रदेशका रहेका छन् । बागमती प्रदेशका ६ वटा जिल्ला रेड जोनमा रहेका छन् । बागमती प्रदेशका काठमाडौं, काभ्रे, चितवन, भक्तपुर, मकवानपुर र ललितपुर रेड जोनमा रहेका छन् ।

त्यस्तै १ नम्बर प्रदेशमा ३ वटा जिल्ला झापा, मोरङ र सुनसरी रेडजोनमा छन् । कोरोना संक्रमणको सुरुवाती समयमा धेरै संक्रमण रहेको २ नम्बर प्रदेशमा भने कुनै पनि जिल्ला रेड जोनमा छैनन् ।

५ नम्बर प्रदेशका ३ वटा जिल्ला दाङ, बाँके र रुपन्देही रेड जोनमा रहेका छन् । गण्डकीमा कास्की, कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा कैलाली रेडजोनमा छन् ।