आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोना उपचार : अस्पताल भन्छन् ‘आइसियू छैन’, मन्त्रालयको प्रतिक्रिया ‘प्रयोग भएन’

गोकर्णेश्वर खबर२ कार्तिक २०७७, आईतवार ०५:३७ मा प्रकाशित (३ साल अघि) २६१ पाठक संख्या

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा पनि बढिरहेको छ । देशभर दैनिक रुपमा ४ हजार भन्दा बढी संक्रमण भेटिएसँगै अहिले समुदायस्तरमा फैलिसकेको देखिन्छ ।

समुदायस्तरमा फैलिसकेको कोरोना नियन्त्रण तथा रोकथामको लागि कुनै उपाए नभएको सरकारले बताएको छ । सरकारले कोरोना नियन्त्रणको कुनै उपाए नभएको र आफै सचेत बन्न भनिरहे पनि कोरोना संक्रमण र कोरोनाबाट मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।

अहिले कोरोना संक्रमण भएका संक्रमितहरुलाई अस्पतालहरुले उपचारको चुस्त व्यवस्थापन गर्न सकिरहेका छैनन् । अस्पतालमा उपचारको लागि सामान्य बेड, आइसियू बेड तथा भेन्टिलेटरको समस्या भएको अस्पतालहरुले जनाएका छन् ।

अस्पतालले अहिले आकस्मिक बिरामीको लागि छुट्याइएको आइसियू पनि प्रयोग गरिरहेको त्रिवि शिक्षण अस्पतालको कोरोना फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए । शिक्षण अस्पतालमा कोरोना डेटिकेटेट १० वटा आइसियू रहेको छ ।

आकस्मिक रुपमा प्रयोग गर्न राखेको ५ वटासहित अहिले १५ वटा आइसियूमा बिरामीले उपचार गराइरहेका डा. थपलियाले बताए ।
अस्पतालले आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाइ पनि सामान्य बेडमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको बताइरहेका छन् ।

तर, अस्पतालहरुले आफ्नो अस्पतालमा बेड अभाव रहेको बताएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार उपत्यकाको विभिन्न अस्पतालमा ३८ वटा आइसियू बेड अझै खाली रहेको छ । त्यस्तै ४१ वटा भेन्टिलेटर पनि खाली रहेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयको र अस्पतालको तथ्याङ्कमा फरक हुुनुमा डाटा इन्ट्री सिस्टम एउटा कारण हुन सक्ने डा. थपलियाले बताए । सिस्टममा अन्य अप्सन नभएको कारण प्रयोग भएको नभएको खुलाउन समस्या हुने उनले बताए ।

त्यस्तै मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना उपचार गर्न अनुमति पाएका निजी अस्पतालहरुमा पनि आइसियू तथा भेन्टिलेटर खाली रहेको छ । कोरोना उपचारको लागि अनुमति पाएका विभिन्न निजी अस्पतालमा ७८ वटा आइसियू र ८५ वटा भेन्टिलेटर खाली रहेको छ ।

यता वीर अस्पतालको निर्देशक डा. केदार सेन्चुरीले अहिले अस्पतालमा रहेको कोरोना डेटिकेटेड आइसियू तथा भेन्टिलेटरहरु खाली नभएको बताए ।

उनले अस्पतालमा कोरोना डेटिकेटेड आइसियू र आकस्मिक रुपमा आउने कोरोना बिरामीको उपचारको लागि छुट्याएको आइसियू समेतलाई जोडेर मन्त्रालयले तथ्याङ्क निकालेको कारण अस्पताल र मन्त्रालयको तथ्याङ्कमा फरक भएको बताए ।