आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन (विज्ञापनसहित)

गोकर्णेश्वर खबर२९ आश्विन २०७७, बिहीबार ०७:१३ मा प्रकाशित (३ साल अघि) २६९ पाठक संख्या

काठमाडौं, २९ असोज । लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ ।

कोभिड–१९ संक्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको हो । विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ ।

निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो । सरकारले रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गर्ने निर्णय असोज पहिलो साता नै गरेको थियो ।

त्यसैअनुसार आयोगले गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ ।

अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्नेछ । ‘बिहान र दिउँदो दुई सिफ्टमा परीक्षा चलाउँदा पनि माघ अन्तिमसम्म जाँचको रुटिन बनेको छ,’ आयोगका अध्यक्ष उमेश मैनालीले भने । यसपछि क्रमशः शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत पदका रिक्त दरबन्दीहरूको विज्ञापन गरिने उनले उल्लेख गरे ।

आयोगले परीक्षामा कोभिड–१९ संक्रमितले परीक्षामा बस्न नपाउने गरी मापदण्ड तयार पारेको छ । कोभिड संक्रमितका लागि वैकल्पिक व्यवस्था नगरिएकामा विरोध पनि भइरहेको छ । परीक्षा हलमा प्रवेशपूर्व विद्यार्थी स्वयंले आफूलाई कोभिड संक्रमण भएरनभएको घोषणा गर्नुपर्ने मापदण्डमा भनिएको छ । संक्रमित विद्यार्थीका लागि अर्को मितिमा वा छुट्टै हल व्यवस्थापन गरेर परीक्षा लिन सम्भव नदेखिएको अध्यक्ष मैनालीले बताए ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई तोकेर परीक्षाको तयारी गरिएको बताए । एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ ।

एउटा बेन्चमा एक जना परीक्षार्थी मात्रै हुनेछन् । परीक्षार्थी तथा परीक्षा गराउन खटिने जनशक्तिले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने परीक्षा व्यवस्थापन मापदण्डमा उल्लेख छ । कान्तिपुर दैनिकबाट

हेर्नुहोस् विज्ञापन