आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाडौँ महानगरको सहयोगमा तिलगंगामा ३ शवदाह गृह बन्ने

गोकर्णेश्वर खबर२८ आश्विन २०७७, बुधबार १७:११ मा प्रकाशित (३ साल अघि) ३४९ पाठक संख्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको बागमती पारिपट्टी (तिलगंगा)मा थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुने भएको छ ।

आज काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार, शवदाह गृह निर्माण गर्न कोषले सार्वजनिक सूचना मार्फत बोलपत्र आव्ह्वान गरिसकेको र उक्त बोलपत्र हाल मूल्याङ्कनको क्रममा रहेकोमा सो खरिद प्रक्रिया टुंगोमा पुर्याई बोलपत्रदाता छनोट गर्ने, आसयको सूचना प्रकाशन गर्ने र छनोट भएको बोलपत्रदातासँग सम्झौता गर्ने तथा कार्यादेश लिने काम कोषले नै गर्नेछ ।

सम्झौतापत्रमा शवदाह गृहको अग्रभागमा देखिने गरी शिलापत्रमा काठमाडौँ महानगरपालिकाको अनुदानमा निर्माण भएको शवदाह गृह भनी लेख्नुपर्ने उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै प्रमुख शाक्यले कोषलाई जति सक्दो छिटो शिलान्यास गरी ६ महिना भित्रमा उद्घाटन गरी सञ्चालन गर्ने गरी काम थाल्न आग्रह गरे । ‘काठमाडौँ महानगरपालिकाले विगतमा पनि जनसरोकारका विषयलाई सम्वोधन गर्दै आएको छ । काठमाडौँ महानगरपालिका आफैँले गर्नुपर्ने कतिपय काम पनि जुन संघ–संस्थाले गरिरहेका छन् उनीहरुसँग सहकार्यमा गर्दै आएको छ,’ शाक्यले भने, ‘पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह निर्माण गर्ने काममा पनि हामीले पशुपति क्षेत्र विकास कोषसँग सहकार्यमा गर्न लागेका हौँ ।’

शाक्यले अहिले सञ्चालनमा रहेका दुई ओटा विद्युतीय शवदाह मेशिनले चाप धान्न नसकेको अवस्थामा महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने थप तीन ओटा मेशिनले केही सहज हुने अपेक्षा गरेको बताए ।

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको भन्दै शाक्यले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोका बारेमा कुनै पनि चिन्ता नलिन आग्रह गर्दै काम समयमा सम्पन्न गर्न सुझाव दिए ।

शाक्यले काठमाडौँ महानगरपालिकाले १५ ओटा एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।

शाक्यले अहिले कोभिड–१९ का कारण विश्व नै महामारीको चपेटामा परिरहेको र नेपाल पनि त्यो भन्दा पृथक नरहेको भन्दै महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा कोषका सदस्य सचिव ढकालले विद्युतीय शवदाहका लागि क्षमता विस्तार गर्दै जाने कोषको योजनाम काठमाडौँ महानगरपालिकाले सहयोग गरेको भन्दै उत्साहित भएको बताए । ‘अहिले दैनिक ३५ देखि ४५ वटासम्म शवदाह हुने गरेका छन् । सञ्चालनमा रहेका दुई ओटा मेशिनबाट मात्रै अहिले दैनिक १५–२० ओटा शवदाह हुने गरेका छन्,’ उनले भने, ‘अब थप तीन ओटा मेशिन निर्माणपछि अहिलेको बढ्दो चापलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ ।’