आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

हैदराबादलाई २० रनले हराउँदै आइपीएलमा चेन्नईको तेस्रो जित

गोकर्णेश्वर खबर२८ आश्विन २०७७, बुधबार ०६:१४ मा प्रकाशित (३ साल अघि) ६८८ पाठक संख्या

एजेन्सी- सनराइजर्स हैदराबादलाई २० रनले हराउँदै साविक उपविजेता चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य  पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए ।

चेन्नईका कर्न शर्मा र ड्रायन ब्राभोले २/२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए ।

हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २/२ विकेट लिए ।

जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।

यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो ।

जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैठौँ स्थानमा समेत उक्लिएको छ ।

हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।