आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

पैसा र मोबाइलमा २८ दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस

गोकर्णेश्वर खबर२७ आश्विन २०७७, मंगलवार ०६:२९ मा प्रकाशित (३ साल अघि) ३१८ पाठक संख्या

एजेन्सी । कोरोना संक्रमण गराउने कोरोनाभाइरस जिवित रहने र संक्रमण फैलाउन सक्ने विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन । जस अनुसार बैंकका नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका हुन ।

यो भाइरस पहिला भनिएभन्दा अझै लामो समय जीवित रहन सक्ने अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायका वैज्ञानिकहरुले बताएका हुन।

तर अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका हुन्। परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने तथ्य यसअघि नै प्रमाणित भैसकेको छ।

तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शङ्का प्रकट गरेका छन्।

यसअघि गरिएका अध्ययनमा सार्स–कोभ–२ भाइरस बैंकमा रहेका नोट वा सिसाको सतहमा २ देखि ३ दिनसम्म र प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो। यस अनुसार भिन्न भिन्न अनुसन्धानको नतीजा फरक रहेका छन ।

अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै बलवान देखिएको हो। मोबाइल फोनको स्क्रीनजस्तो सम्म परेको सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको तथ्य फेला पर्यो ।

तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन सक्छ ।
“सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा यसको सङ्क्रमणको अनुमान तथा नियन्त्रण गर्न सहज हुन्छ । यसबाट मानिसहरूलाई जोगाउन सकिन्छ” सीसीरोका प्रमुख कार्यकारी डा. ल्यारी मार्शलले बताए।

तर कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व प्रमुख प्राध्यापक रन एकल्सले यो अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भन्ने तर्कले आम मानिसलाई त्रसित मात्रै गराएको आरोप लगाएको बिबिसीले जनाएको छ ।

“सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोरी औँलाबाट सर्छ । यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन” प्राध्यापक एकल्सले भने।

गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन । उनले भनेकी थिइन, “ताजा म्युकस भनेको भाइरसको निम्ति जोखिमपूर्ण वातावरण नै हो। त्यसमा हुने श्वेत कोषले उत्पादन गर्ने इन्जाइमले भाइरसलाई मार्छ। त्यसमा भएका एन्टीबडी तथा अन्य रसायनले पनि भाइरसलाई निस्क्रिय पारिदिन्छ। मेरो विचारमा सङ्क्रामक भाइरस सतहमा टाँसिएका म्युकसमा केवल केही घण्टा नकि दिन बाँच्न सक्छ।”

उनका अनुसार महामारीको सुरुमा सतह वा निर्जीव वस्तुमार्फत् सङ्क्रमण सर्ने निकै त्रास थियो। तर अहिले यसको मुख्य कारण कुनै सतह छोएर अनि त्यसपछि आँखा छोएर सर्ने होइन रहेछ भन्ने पुष्टि भएको छ । “भाइरस सर्नुको मुख्य कारण त थाहा नपाइकनै कसैले आफ्नो नाक वा मुखबाट निकालिरहेको भाइरसको नजिक पर्नु नै हो।” प्राध्यापक मोनिका गान्धीले भनिन् ।

तर बैंकमा रहेका नोट वा फोनका टचस्क्रीनबाट कति सर्छ ? भन्ने कुरा चाहिँ पूर्ण निश्चित् छैन।
उनी भन्छिन् “पछिल्लो अनुसन्धानबाट भाइरस कुनै कुनै सतहमा सोचिएभन्दा लामो समय बाँच्न सक्ने देखिएको छ, तर ती अनुसन्धान भाइरसलाई अनुकूल हुने अवस्थामा गरिएका हुन्, जस्तो कि तापक्रम अनि आर्द्रता घटबढ नहुने र अँध्यारो कोठामा।”