आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको विज्ञहरुको दाबी

गोकर्णेश्वर खबर२६ आश्विन २०७७, सोमबार २२:३० मा प्रकाशित (३ साल अघि) ४८४ पाठक संख्या

काठमाडौं: नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको विज्ञहरुले बताएका छन । पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले उपत्यकाको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने उनीहरुको भनाइ छ ।

समग्र देशको संक्रमणको स्थिति भन्दापनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको विज्ञहरुले बताएका हुन । काठमाडौं उपत्यका भित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालय लायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको विज्ञहरुको भनाइ छ । सरकारले सही नीति लिन नसक्दा संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकेको विज्ञले बताएका छन ।

नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवतजावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको विज्ञको भनाइ छ । सरकारले सीमा नाकामा आउने मानिसहरुलाई अव्यवहारीक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको बताइएको छ । उनले कोरोना संक्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत नीति भएको विज्ञले औल्याएका छन । त्यसको परिणामस्वरुप अहिलेको स्थिति देखा परेको विज्ञको भनाइ छ । त्यस्तै सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९÷१० दिन सम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा संक्रमण फैलिन सहयोग पु-याएको विज्ञको दावी छ ।

शनिबार नेपालमा एकै दिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये २ हजार ६ सय ७२ जना संक्रमित काठमाडौं उपत्यकामा फेला परेका थिए । सोमबार नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित पुुष्टि भएको थियो । यसरी दिनप्रतिदिन संक्रमणको दर बढ्दै जानुले संक्रमण समुदाय स्तरमा फैलिएको र चौथो चरणमा प्रवेश गरिसकेको पुष्टि गरेको विज्ञहरुको भनाइ छ ।