आज: ६ कार्तिक २०७७, बिहीबार | Thu, 22, Oct, 2020

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो कात्तिकमा

गोकर्णेश्वर खबर२६ आश्विन २०७७, सोमबार ०७:०८ मा प्रकाशित (१ हफ्ता अघि) ५५ पाठक संख्या

काठमाडौं : आगामी कात्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ आयोजना हुने भएको छ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप आयोजना हुन लागेको युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए। युनाइटेड तेक्वान्दो डोजाङले यसअघि काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी तथा पुम्से च्याम्पियनसिपको तीन संस्करण भव्यताका साथ आयोजना गरिसकेको छ।

प्रतियोगितामा सहभागी हुन अक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ। यसैगरी नोभेम्बर ५ र ६ तारिखभित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ। प्राप्त भिडियोहरूको मूल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए। च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ। महिला तथा पुरुषका लागि एउटै उमेरसमूह निर्धारण गरिएको छ। हरेक उमेरसमूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ।

प्राप्त भिडियोहरू युट्युबमा अपलोड गरिने र सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रूपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ। यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। च्याम्पियनसिपबाट बचेको रकम कोरोना प्रभावितहरूको उपचारका लागि खर्चने योजना रहेको प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए।